• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वर्तमान संविधान दश वर्ष पनि टिक्दैनः पुर्व अध्यक्ष लेखी

वर्तमान संविधान दश वर्ष पनि टिक्दैनः पुर्व अध्यक्ष लेखी

विरेन्द्र बजार, २४ साउन । नेपाल आदिवासी जनजाति महासंघका पुर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखीले वर्तमान संविधान यथास्थितिमा दश वर्ष पनि नटिक्ने दावी गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीद्वारा २५औं विश्व आदिवासी जनजाति दिवस र २० औं आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसको अवसरमा शुक्रवार सप्तरीको कठौनामा आयोजित लोकसेवा आयोगको असंवैधानिक ब्यवस्था र मिडीयामा समावेशी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान संविधान अधुरो र अपुरो रहेको प्रष्ट पार्दै कार्यक्रमका प्रमुख अतिथि लेखीले संविधानले व्यवस्था गरेको अधिकारलाई खोस्दै जाने सरकारको प्रवृतीले संविधान कार्यान्वयनमा आशंका गरे ।
जनताको बलिदानीवाट प्राप्त उपलब्धी क्रमशः सरकाले कटौती गरेको उल्लेख गर्दै यथास्थितिमा संविधान वहिष्कार हुन सक्छ उनले भने ‘संविधान संशोधन गरेर उत्पीडित समुदायको माग मुद्दा सम्वोधन गर्न सरकार तयार नभए वर्तमान संविधान दश वर्ष समेत टिक्दैन ।’ एक्ला एक्लै गरेको आन्दोलनले अधिकार पाउन असम्भव भएकोले सम्पुर्ण विभेद र उत्पीडनमा परेका समुदाय एकजुट भई आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका कार्यवाहक अध्यक्ष मिना चौधरीले अधिकारका लागि संघर्षको विकल्प नरहेको वताईन । उनले सामाजिक न्याय र सम्मानताको लागि गाउँपालिकाले सधै सहयोग गर्ने प्रतिवद्धता जनाईन् । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्वर २ का उपाध्यक्ष दिल कुमारी चौधरी, नेपाल तामाङ घेदुङका संघिय सदस्य भिम वहादुर घिसीङ, नेवाः देयः दवु प्रदेश नम्वर २ का संयोजक दक्ष नारायण श्रेष्ठ, अदिवासी जनजाति महसंघ सप्तरीका पुर्व अध्यक्ष यम वहादुर खपाङी मगर, जिल्ला प्रशिक्षक जवाहर लाल चौधरी, पत्रकार हेमशंकर सिंह, राजु विश्वकर्माले सवावेशी सिद्धान्तबारे धारणा ब्यक्त गरे ।
यसैगरी राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सप्तरीका उपाध्यक्ष हिरा सिंह दनुवार, थारु कल्याणकारीणी सभा सप्तरीका उपसभापति लक्ष्मी चौधरी, समाजसेवी इन्जिनियर सुर्यनारायण यादव, आदिवासी जनजाति महासंघका पूर्व सचिव उपेश सिंह दनुवार, आदिवासी जनजाति महसंघ शम्भुनाथका अध्यक्ष श्रीनारायण चौधरी, राजविराजका अध्यक्ष अनार कुमारी चौधरी लगायतले मन्तब्य ब्यक्त गरे । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका सचिव खेमराज सिंह दनुवारले सञ्चालन गरेको कार्यक्रममा स्वागत आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारुले गरिन् ।
पहिचान सहितको संघीयता र स्वायतताकोलागि संविधान संशोधन हाम्रो साझा अभियान, २५औ विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशीका लागि हाम्रो आन्दोलन भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा विभिन्न जातीय सङ्गठनका अध्यक्ष, पालिकाका अध्यक्ष, पत्रकार, आदिवासी जनजाति अभियन्ताहरु उपस्थित कार्यक्रममा आरक्षण बचाआंै आन्दोलन कार्यक्रमको औचित्यता र आवश्यताबारे महासंघका उपाध्यक्ष शिवनारायण थारुले कार्य पत्र प्रस्तुत गर्दै प्रकाश पारे ।