राजविराज, २४ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा गत आर्थिक वर्ष ०७४÷०७५ मा १४ करोडभन्दा बढी रुपैयाँ अनियमित खर्च गरेको खुलेको छ ।
महालेखा परीक्षकको वार्षिक लेखा परीक्षण प्रतिवेदनमा १४ करोड ५७ लाख ९४ हजार रुपैयाँ अनुशासन विपरित खर्च गरेको पाईएको छ । उक्त रुपैयाँमध्ये १ करोड ५५ लाख २१ हजार असुल गर्नुपर्ने, ८७ लाख ८० हजार नियमित गर्नुपर्ने, ९ करोड ८५ लाख २४ हजार रुपैयाँको प्रमाण कागजात पेश गर्नुपर्ने तथा २ करोड २९ लाख ६८ रुपैयाँ पेश्की रहेको प्रतिवेदनमा जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ र आर्थिक कार्यविधि ऐन २०५५ को दफा १८ बमोजिम लेखा परिक्षणबाट बेरुजु फछ्र्यौट गर्नुपर्ने हुन्छ । तर, नगरपालिकाले भने फछ्र्यौट गर्न बाँकी रहेको बेरुजुको अध्यावधिक लागत तयार समेत गरेको छैन् भने यसअघि पनि कार्यालयमा बाँकी रहेको ८४ लाख ७८ हजार बेरुजु रकम समेत फछ्र्यौट नगरेको प्रतिवेदनले देखाएको छ ।
नगरपालिकाले कर समयमा दाखिला नगरेको, आम्दानीका अभिलेख तोकिए बमोजिम नराखेको लगायतका व्यहोरा देखिएको प्रतिवेदनले ठहर गरेको छ । प्रतिवेदनअनुसार नगरपालिकाको समग्र वित्तीय जवाफदेहिता पालनाको स्तर ‘सी’ ग्रेड रहेको छ भने आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ४५ मा उल्लेखित अधिकार प्राप्त अधिकारीलाई वित्तीय जवाफदेहिता पालन गर्न सुझाव समेत दिएको छ ।