• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

वृद्ध दम्पति हत्याको पाँच महिना वित्दा पनि हत्यारा अज्ञात

‘केहि व्यक्ति शंकाको घेरामा छ, तथापी हत्यारा किटान गर्न केही समय लाग्छ’
वृद्ध दम्पति हत्याको पाँच महिना वित्दा पनि हत्यारा अज्ञात

राजविराज, २३ साउन । सप्तरी सदरमुकाम राजविराजबाट झण्डै २५ किलोमिटरको दुरीमा पर्छ–खर्चुहिया बजार । खडक नगरपालिका वडा नम्वर ५ मा पूर्व पश्चिम राजमार्ग छेउमै पर्ने खर्चुहिया बजारमा गत फागुन १४ गते मङ्गलवार वृद्ध दम्पतिको जलाएर हत्या भयो ।
मुख्य बजारमै घर रहेको वृद्ध दम्पतिको घरको ढोका अबेरसम्म बन्द देखेर स्थानीयहरुले हेर्न जादाँ घरभित्रबाट धुँवा निस्किरहेको पाएपछि प्रहरीलाई खबर गरे । प्रहरीले घरको खोलेर हेर्दा ७५ वर्षीय सबुरी साह र उनको ६५ वर्षीया पत्नी बेचनी देवी साहको मृत शरीर पूर्ण रुपमा जलिसकेको थियो ।
इलाका प्रहरी कार्यालय कल्याणपुर, कडरबोना र जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान थाले । घटनाको प्रकृति जटिल रहेपनि घरभित्र र आँगनभरि ठाउँठाउँमा देखिएको रगतले वृद्ध दम्पतिको हत्या नै भएको विषय प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरे । र, हत्यारालाई कानूनी दायरामा ल्याउन प्रदेश प्रहरी कार्यालय जनकपुरको ब्युरो अनुसन्धान टोली, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फोरेन्सिक टिम र तालिम प्राप्त कुकुरको सहायताले प्रहरीले सुक्ष्म अनुसन्धान थाले ।
शरीर पूर्ण रुपमा जलिसकेकोले वृद्ध दम्पतिको डिएनए परीक्षण गर्न पनि पठाइयो । सोही क्रममा ५ तथा सप्तरी प्रहरीबाट ५ गरी १० जनाको विशेष टोलीले थप २० जना सुरक्षाकर्मीको टोली केहि सातासम्म घटनास्थलमै बसे । शंकास्पद व्यक्तिलाई सोधपुछ, कतिपय स्थानमा खानतलासी, कल डिटेल चेक लगायत अनुसन्धानका धेरै पाटोमा प्रहरीले कार्य गरे । तर, हत्या भएको ५ महिनाबढी भईसक्दा पनि हत्यारा भने पत्ता लागेको छैन ।
समाजमा शान्ति सुरक्षा कायम गरी सर्वसाधारणकालागि भयरहित वातावरण सिर्जना गर्ने प्रहरीको दायित्व रहेपनि पछिल्लो समयमा सो कार्य गर्न प्रहरी असफल देखिएको भन्दै सरोकारवालाहरुले प्रश्न समेत उठाउन थालेका छन् । ‘जघन्य अपराधमा पनि प्रहरीले अनुसन्धानमै महिनौ विताकोले अझै अपराधी अज्ञात नै छ, जसका कारण घटना आसपासका सर्वसाधारण मात्रै होइन् जिल्लाभरिका सर्वसाधारणमा त्रास छ’ मानवअधिकारकर्मी मनोहर पोखरेलले भने–‘घटना लगत्तै प्रहरीको अनुसन्धान देखेर हत्यारा पत्ता लाग्छ भने विश्वास थियो, तर पछिल्लो समयमा प्रभावकारी अनुसन्धान भईरहेको देखिदैन ।’
अपराधीलाई कानूनी दायरामा ल्याएर प्रहरीले समाजप्रति बोकेको जिम्मेवारी पुरा गर्न अग्रसर हुनुपर्ने उनले बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएपी भावेश रिमालले घटनामा अनुसन्धान जारी रहेको बताए । ‘केहि व्यक्ति शंकाको घेरामा छ, तथापी हत्यारा किटान गर्न केही समय लाग्छ’, उनले थपे ।

को थिए, वृद्ध दम्पति?
स्थानीयहरुका अनुसार गरिबका लागि देउता नै थिए, वृद्ध दम्पति । परेको वेला माग्न आउनेलाई रित्तो फर्काउँदैन्थ्यो कसैलाई । लामो समयदेखि खर्चुहियामा बसोबास गर्दै आएका सबुरीको मुख्य घर तत्कालीन बनरझुला गाविस–३ हो ।
स्थानीयका अनुसार बनरझुलामा उनको कुटानीपीसानी मिलको व्यवसाय थियो । दुई छोरा सत्यनारायण साह र तेजनारायण साह जागिरमा रहेका कारण बाहिर बस्न थालेपछि उनीहरूले मिल बेचेर खर्चुहिया बजारमा सरेका थिए । दुई दशकदेखि हरेक दिनदुखीलाई समान्य ब्याजमा ऋण उपलब्ध गराउदै आएका थिए, उनीहरु । करिब ५÷७ वर्षअघि प्यारालाइसिसका कारण सबुरी थला परेपछि पत्नी बेचनीले ऋणको कारोबार गर्दै आएकी थिइन् ।