राजविराज, २३ साउन । विगत केही वर्षयता सप्तरी जिल्लामा विभिन्न नाममा आत्महत्याको घटनामा व्यापक वृद्धि हुँदैगएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार झुण्डिएर, विष सेवन गरी, शरिरमा आगो लगाएर तथा पानीमा हाम फालेर आत्महत्या गर्ने गरिएको पाईएको हो । झुण्डिएर आत्महत्या गर्नेहरुको सङ्ख्या अत्यधिक रहेको छ । आत्महत्याको सूचीमा १४ वर्षिय बालकदेखि ७० वर्ष वृद्धसम्म रहेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा झुण्डिएर ६२ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ३८ पुरुष र २४ महिला छन् । यस्तै विष सेवन गरी आत्महत्या गर्नेहरुमा ७ पुरुष र १२ महिला समेत गरी १९ जना छन् । शरिरमा आगो लगाएर र पानीमा हाम फालेर एक–एक महिला गरी दुई जना रहेका छन् । विभिन्न माध्यमबाट आत्महत्या गर्नेहरुको कुल संख्या ८३ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा २७ जना पुरुष र ३१ जना महिला समेत गरी ५८ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै ९ पुरुष र १७ महिला समेत गरी २६ जनाको विष सेवनबाट ज्यान गएको छ । यसैगरी शरिरमा आगो लगाएर एक महिलाले ज्यान गुमाएकी छिन् । आत्महत्या गर्नेहरुको कुल सङ्ख्या ८५ रहेको प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७३/०७४ मा १७ जना पुरुष र २२ जना समेत गरी ३९ जनाले झुण्डिएर आत्महत्या गरी ज्यान गुमाएका छन् । प्रहरी प्रवक्ता रिमालका अनुसार विष सेवन गरी ९ पुरुष र ९ महिला गरी १८ जनाले ज्यान गुमाएका छन् भने आफ्नै शरिरमा आगो लगाई दुई महिलाले आत्महत्या गरेकी छिन् । विभिन्न बहानामा आत्महत्या गर्नेहरुको कुल सङ्ख्या ५९ रहेको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा ५९, २०७४/०७५ मा ८५ तथा २०७५/०७६ मा ८३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क छ । तीनवर्ष यताको तथ्याङ्क हेर्दा सप्तरी जिल्लामा आत्महत्या विकराल समस्याको रुपमा देखिएको छ ।
किन गरिन्छ आत्महत्या ?
सम्भवतः देशका अन्य जिल्लाहरुको तुलनामा सप्तरी जिल्लामा आत्महत्या सम्वन्धी घटनाहरु अत्यधिक छ । आत्महत्याको प्रमुख कारणको रुपमा प्रेम सम्वन्ध, विछोड, एकतर्फ प्रेम, घरायसी विवाद, असिमित चाहना, विलासितापूर्ण चाहना, अपमानित, दाइजो, पारिवारिक कलह, प्रताडना, चरम गरिबी लगायतका छन् । यस अतिरिक्त अन्य कारणहरुले समेत समाजमा आत्महत्याका घटनामा वृद्धि हुँदैगएको छ ।
आत्महत्याका अधिकांश घटनाहरुमा आफुलाई सम्हाल्न नसकेर अत्यधिक तनावमा आएर गलत निर्णय लिई जिवन नै समाप्त पार्ने गरेको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका डा. रणजित कुमार झा बताउँछन् । उनका अनुसार विष सेवन गरी आत्महत्याको प्रयास गरेकाहरु अस्पतालमा अत्यधिक संख्यामा आउने गरेका छन् । अस्पतालमा उपचार गराएपछि अधिकांश निको भएर घर फर्किने गरेको बताउँदै उनले भने ‘विद्यालय तथा कलेज पढ्ने विद्यार्थीहरु समेत विभिन्न कारणले अत्यधिक तनावको शिकार हुने गरेका छन्, जीवनबाट हरेश खाएर निराश भई आत्महत्या गर्नु सिङ्गो समाजकोलागि नै चिन्ताको विषय हो ।’ खास गरी युवावर्गमा जीवन जीउने कला सम्वन्धी जागरण ल्याउनु आवश्यक रहेकोले त्यसकालागि आफुले समेत केही योगदान गर्ने तयारीमा रहेको डा. झाले बताए ।
सप्तरी जिल्लामा आत्महत्याका घटनाहरुको विवरण हेरेर आफु अत्यन्तै चिन्तित रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताए । जनचेतनाको अभावमा आत्महत्याका घटनाहरु भईरहेको भनिए पनि आफ्नो फरक मत रहेको जानकारी दिँदै उनले भने ‘अहिले त अशिक्षित भन्दा शिक्षित समाजमा नै यस्ता घटना अत्यधिक छ, असिमित ईच्छाका बीच धैर्यता गुमाउँदा यस्ता घटनाहरु दिनानुदिन बढ्दैगईरहेको छ ।’ आत्महत्याको कहालीलाग्दो अवस्थालाई न्यूनिकरण गर्न सरोकारवालाहरु बीच विचार–विमर्श गरिने प्रहरी उपरीक्षक यादवले बताए ।
आत्महत्याको आडमा हत्या !
जिल्लामा भएका कतिपय आत्महत्याका घटनाहरु शंकास्पद रहेको पाईएको छ । आत्महत्या सम्वन्धी घटनामा प्रहरीले गहन अनुसन्धान नै नगरी समान्य रुपमा लिने गरिएकोले गलत मनसायका साथ कतिपय घटना हुने गरेको नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवको ठम्याई छ ।
उनका अनुसार केही घटनामा आत्महत्या गर्न प्रेरित गर्ने खालका क्रियाकलापहरु समेत कारक तत्वको रुपमा देखिएको छ भने केही घटनामा रणनीति तहत आत्महत्याको नाटक समेत गर्ने गरिएको छ । आत्महत्या भनिएका कतिपय घटनाहरु त प्रहरीसम्म नपुगी गाउँमै दाहसंस्कार गोप्य राख्ने गरिएकोले यसतर्फ सम्वन्धित निकाय चनाखो रहनुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय
सप्तरीमा विकराल बन्दै आत्महत्या
तीन वर्षमा २ सय २७ जनाले गुमाए ज्यान
‘केही घटनामा आत्महत्या गर्न प्रेरित गर्ने खालका क्रियाकलापहरु समेत कारक तत्वको रुपमा देखिएको छ भने केही घटनामा रणनीति तहत आत्महत्याको नाटक समेत गर्ने गरिएको छ । आत्महत्या भनिएका कतिपय घटनाहरु त प्रहरीसम्म नपुगी गाउँमै दाहसंस्कार गोप्य राख्ने गरिएको छ ।’