राजविराज, साउन २२ । चैत १७ गते बारा पर्सामा आएको हावाहुरी (टोर्नाडो) मा परि घाइते भएकाहरुको उपचार खर्च बापत विरगञ्ज स्थित नेशनल मेडिकल कलेजले प्रदेश सरकारबाट ३१ लाख ३८ हजार २ सय ८४ रुपैयाँ भुक्तानी लिएको छ ।
टोर्नाडो पीडितको उपचारको क्रममा कलेजका प्रवन्ध निर्देशक बसरुद्दिन अन्सारीले घाइतेहरुको उपचार निःशुल्क गर्ने घोषणा गरेपनि अहिले आएर २३२ जना घाइतेको उपचार गरेको भन्दै प्रदेश सरकारबाट सम्पूर्ण रकम लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली घाइतेहरुको निरीक्षण गर्न अस्पताल पुगेको बेला अन्सारीले सञ्चारकर्मी समक्ष निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए । तर अस्पतालका निर्देशक आविद हुसेनले निशुल्क उपचार गर्ने बारे आफुलाई कुनै जानकारी नरहेको र मुख्यमन्त्रीले उपचार खर्च प्रदेश सरकारले बेहोर्ने घोषणा गरे बमोजिम आफुले रकम लिएको बताएका छन् ।
अस्पतालले त्यतिबेला अस्पतालको विभिन्न ठाँउमा निशुल्क उपचार र खानाको व्यवस्था अस्पतालले गरेको भन्दै पर्चा समेत टाँसेका थिए । तर अहिले आफैले गरेको घोषणा विपरित रकम लिएका छन् ।
यस्तै विरगञ्ज स्थित विरगञ्ज हेल्थ केयर हस्पिटलले समेत १० लाखको चेक पाएका छन् । हेल्थ केयरका चेयरम्यान डा. अब्दुल हैसले उक्त चेक बुझेका छन् । दुबै अस्पताललाई मुख्यमन्त्री लालबाबु राउतले आज चेकहस्तान्तरण गरेका छन् ।