राजविराज, २१ साउन । कोशी नदी कटान डुवान पीडित संघर्ष समिति सुनसरी, सप्तरी र उदयपुर जग्गाको मुआब्जा माग गर्दै आन्दोलित भएका छन् ।
संघर्ष समितिले मङ्गलवार राजविराजमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका हुन् । ‘२५ अप्रिल १९५४ मा भएको कोशी सम्झौताको ६५ वर्ष भयो, तर अझंैसम्म आफुहरुको कटान र डुबान भएका जग्गाको मुआब्जा दिएन’ समितिका संयोजक महिदेव प्रसाद चौधरीले भने– ‘कोशी सम्झौताको बुँदा ३, ८ र ९ तथा १९६६ मा संशोधित सम्झौताको बुँदा नम्वर ३ मा उल्लेखित भएबमोजिम कोशी योजनाको काम कारबाहीबाट क्षति भएका जग्गाको क्षतिपूर्ति भारत सरकारले दिनुपर्नेछ ।’
उनले जग्गाको मुआब्जा दिलाउन पटक–पटक पहल हुँदा पनि आफुहरुले मुआब्जा नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । सो आन्दोलनबाट माग सुनुवाई नभए सोहि कार्यक्रमबाट थप सशक्त आन्दोलन घोषणा गर्ने संयोजक चौधरीले चेतावनी समेत दिए । आन्दोलनका कार्यक्रम अनुसार साउन ३२ गते शनिवार सप्तकोशी ब्यारेज स्थित कोणसभा र धर्ना, ब्यारेज प्रशासन कार्यालय घेराउ, रिले अनसन र अनसन रहेको छ ।
कोशी पीडितहरुको आन्दोलनमा राजनीतिक दलले समेत समर्थन गरेका छन् । पत्रकार सम्मेलनमा उपस्थित नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीका सचिव रामकुमार यादव र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता अमरनाथ मण्डलले कोशी पीडितको आन्दोलनमा पार्टीको समर्थन रहने बताएका हुन् । पत्रकार सम्मेलनमा संविधानसभा सदस्य एवम् नेकपाका नेता मानपुर चौधरी लगायत सप्तरी, सुनसरी र उदयपुरका कोशी पीडितहरुको उपस्थिति थियो ।
संघर्ष समितीले यसअघि साउन १३ गते सोमवार मात्रै मुआब्जा माग्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयकालागि ज्ञापन पत्र समेत पठाएका थिए ।