राजविराज, २० साउन । राजविराज नगरपालिका वडा नम्वर १० माइती रहेकी २७ वर्षिया कञ्चन कुमारी यादवको हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।
माइती पक्षले सोमवार शवसहित प्रदर्शन गर्दै दोष्ीामाथी कार्वाहीको माग गरेका हुन् । डाकनेश्वरी नगरपालिका वडा नम्वर १ कबिलासा स्थित ससुरालीमा आफ्नै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कञ्चनको पोष्टमार्टम पश्चात शवसहित माइतीपक्षका आफन्तजनले सोमवार राजविराजमा प्रदर्शन गरेका छन् । उनीहरुले घटनाको विषयमा अविलम्ब छानबिन गरि दोषीमाथी कडा कार्वाही गर्न माग गरेका छन् । कञ्चनलाई ससुराली पक्षले यातना दिएर हत्या गरी कसुर लुकाउन झुण्ड्याईदिएको कञ्चनको माइती पक्षको दावी छ । कञ्चनको शरीरभरि भएको घाउ चोटका आधारमा हत्या भएको दावी गरेको मृतकका दाजु राजेन्द्र यादवको दावी छ ।
राजविराज १० निवासी कञ्चनको दुई वर्षअघि डाकनेश्वरी नगरपालिका १ निवासी अरबिन्दसँग विवाह भएको थियो । सुरुका केही दिन राम्रै बिते पनि पछि गएर दुई बीचको सम्बन्धमा किचलो देखिएको थियो । केही दिन यता अरबिन्दको अर्की एक महिलासँग सम्वन्ध भएपछि कञ्चनसँगको सम्वन्धमा समस्या आएको उनीहरुको आरोप छ ।
उक्त घटना पश्चात मृतकका ससुरा फरार छन् भने घटनाको अनुसन्धान गर्न प्रहरीले मृतकका पति अरबिन्दलाई भने पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेकोले तत्कालै केही भन्न सकिने अवस्था नरहेको उनले बताए ।
मृतक कञ्चनको शवको सोमवारै ससुराली कबिलासामा अन्तिम संस्कार गरिएको छ ।
समाचार
कबिलासामा कञ्चनको हत्या वा आत्महत्या !
शवसहित राजविराजमा प्रदर्शन, पति प्रहरी हिरासतमा