राजविराज, १६ साउन । राजविराजको गजेन्द्रचौकमा भईरहेको निर्माण कार्यले नगर नै कुरुप पार्ने षडयन्त्र भईरहेको भन्दै स्थानीय व्यवसायीहरुले गम्भीर आपत्ती जनाएका छन् ।
देशकै पहिलो टाउन प्लानिङ्ग सिटीको रुपमा रहेको गजेन्द्र चौकमा भईरहेको निर्माण कार्यले कुरुप बनाउने मात्र नभई डुबानमा पार्ने षडयन्त्र भईरहेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका हुन् । सडक विभाग संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कार्यालय लहान मार्फत निर्माणाधिन आरसीसी ढलान लगायतका कामहरु मापदण्ड विपरित भईरहेको कपडा व्यवसायी सुभाष भन्साली बताउँछन् । कुन काम ? कसले ? कति लागतमा ? नक्सा के हो ? लगायतका विषयमा आसपासका वासिन्दालाई समेत जानकारी नदिई निर्माण भईरहेकोप्रति आक्रोश व्यक्त गर्दै उनले भने ‘अहिलेको गजेन्द्रचौक कस्तो बन्दैछ ?, हामीलाई केही पनि थाहा दिईदैन, मन लागे ठेकेदारले काम गर्छन्, मन नलागे बिचैमा छाडेर जान्छन्, धुलो र हिलोसँग हामीलाई जुझ्नुपरेको छ ।’
यस्तै आक्रोश व्यक्त गर्छन् स्थानीय व्यवसायी समेत रहेका नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली । ‘कुन काम भईरहेको छ ? प्लानिङ्गसहितको होडिङ्ग बोर्ड निर्माण स्थलमा राख्नुपर्नेमा त्यो पनि राखिएको छैन’ उनी भन्छन् ‘नगरको सौन्दर्य र शानको रुपमा रहेको चौकलाई कुरुप र डुबानमा पार्ने काम भईरहेको छ, अहिले नै गजेन्द्रचौकमा पानी जम्ने गर्छन् भने उक्त पानी व्यवसायिक प्रतिष्ठानहरुमा पस्ने खतरा बढेको छ ।’ मनपरी रुपमा मुख्य सडकमा आधा फिटदेखि डेढ फिटसम्म ढलान भईरहेको तथा पेटीलाई झन साँगुरो बनाएको उनको तर्क छ ।
के भन्छन् अनुभवी ईन्जिनियरहरु ?
गजेन्द्र चोकमा हाल निर्माणाधिन संरचनाको योजना नै त्रुटीपूर्ण रहेको अवकाशप्राप्त ई. मो. गणीको ठम्याई छ । लेभल बढाईएको र ढल निकासको ब्यवस्था समेत नभएकाले कुरुप त हुने निश्चित नै रहेको बताउँदै उनले भने ‘हचुवा तालमा बनाईएको योजना प्राविधिक दृष्टिकोणले त्रुटीपूर्ण रहेकोले अविलम्ब सुधार्नुपर्ने आवश्यकता छ ।’
यस्तै बुझाई छ अर्का अवकाशप्राप्त ई. प्रयाग यादवको पनि । निर्माण कार्यमा नपरीतन्त्र हावी रहेको बताउँदै उनले सडक र आसपासको संरचनाहरुको विषयमा समेत विचार नपुर्याउनु दुःखद् भएको बताए । मनपरी ढङ्गबाट काम गर्ने तथा बिचैमा छाडिदिने प्रवृती विरुद्ध आमनगरवासीले आवाज उठाउनु आवश्यक रहेको बताउँदै उनले भने ‘टाउन प्लानिङ्ग सिटीलाई विगार्ने तथा कुरुप बनाउने कदापि क्षम्य हँुदैन ।’
यस्तो छ निर्माण योजना
गजेन्द्र चोकमा भईरहेको निर्माण कार्यहरुबारे व्यापक गुनासो आएपछि ‘न्यूज टुडे’ले गरेको खोजी अनुसार २०७५ असार १९ गते सम्झौता भई २०७६ जेठ १५ सम्ममा सम्पन्न हुनुपर्ने थियो । वल्र्डवाइड रामसागर निर्माण कम्पनीले सडक निर्माणको ठेक्का लगाएको थियो । उक्त कम्पनीले पुष महिनाबाट काम गरी बिचैमा छाड्ने तथा फेरी शुरु गर्ने रवैयाका कारण उक्त काम अझै अलपत्र परेको छ ।
गजेन्द्रचौकमा भईरहेको निर्माण कार्यमा समान्य त्रुटी भएको स्वीकार्छन् सडक विभाग संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कार्यालय लहान ईन्जिनियर नविन साह । चौकमा आरसीसी ढलान, पेटी निर्माण, ग्राभेल २० से.मी., बेस १५ से.मी., ग्राउटिङ्ग, प्रिमिक्स ३० एम.एम. योजनामा रहेको उनले बताए । हालसम्ममा पचास प्रतिशत मात्र काम भएको जानकारी दिँदै उनले भने ‘म्याद सम्पन्न भईसके पनि उक्त कार्य सम्पन्न गराउन हामीले प्रयास गरेका छौं, चेतावनी सहितको पत्राचार समेत गरिसकिएको छ ।’
गजेन्द्रचौकको विषयमा आफुहरुकहाँ पनि धेरै गुनासाहरु आएको स्वीकार गर्दै उनले इष्टिमेटमै योजनाको विषयमा बोर्ड राख्ने विषय छुटेको बताए । स्थानीयवासिन्दाहरुको भावना समेतलाई मध्यनजर गर्दै समान्य कमीकमजोरी भए त्यसलाई सुधार गर्ने प्रयाससहित काम अगाडि बढाउने ईन्जिनियर साहले प्रतिवद्धता व्यक्त गरे ।
के भन्छन् राजविराजका मेयर ?
गजेन्द्रचौकको निर्माणकार्यको विषयमा आएका गुनासाहरुप्रति आफु गम्भीर रहेको राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले बताए । ईष्टिमेट अनुसार नै काम भईरहेको जानकारी दिँदै उनले भने ‘ईष्टिमेटमा जे छ त्यहि अनुसार काम हुन्छ, डुबानको समस्या वा पानी निकासको व्यवस्थापन समेत गर्न प्रतिवद्ध छु ।’
राष्ट्रिय
गजेन्द्र चोकको निर्माण कार्य अलपत्र
निर्माण कम्पनीको मनपरी, राजविराजको मुटु नै कुरुप