राजविराज, १६ साउन । वर्षा, बाढी र चट्याङ्गले जनधनको क्षति भएका परिवारलाई राहत उपलब्ध गराउन माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीले ज्ञापनमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
सदरमुकाम राजविराज स्थित शिव मन्दिर प्राङ्गणमा भेला भएका नेकपाका नेता÷कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई प्रधानमन्त्री कार्यालयका लागि बिहिवार ध्यानाकर्षण पत्र वुझाएका हुन् । पत्रमा चुरे श्रृंखलाको अनियन्त्रित दोहन रोक्न नसक्दा तथा वर्षौसम्म नदी र खोलाहरुलाई नियन्त्रण गर्न नसक्दा सप्तरीमा प्रतिवर्ष बाढीका कारण जनधनको क्षति हुँदै आएको उल्लेख गरिएको छ ।
यस वर्ष मात्रै खाँडो र सप्तकोशी नदीको बाढीमा परी एकको मृत्यु तथा एक जना वेपत्ता भएको भएको छ भने ती नदीसहित महुली, जिता, त्रियुगा, शिशुवारी, खडक, चापिङ, बलान, मुतनी, सुन्दरी खोला र नदीको बाढीले हजारौं व्यक्ति तथा पशुचौपाया प्रभावित भएको पत्रमा जनाएको छ ।
बाढीकै कारण करोडौंको धनमाल क्षति भएको उल्लेख गर्दै मृतक परिवारलाई राहत स्वरुप सहयोग रकम उपलब्ध गराउन तथा वेपत्ता भएकाको खोजी कार्य जारी राख्न माग गरिएको छ । यसैगरी घर विहिनलाई अस्थायी आवास र खाद्यान्न लगायतको राहत सामाग्रीसहित स्वास्थ्य सेवाको तुरुन्त व्यवस्था गर्न माग समेत गरिएको छ ।
नेकपा सप्तरीका अध्यक्ष अशोककुमार मण्डल र सचिव गोविन्द न्यौपानेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बाढी पीडितहरुलाई राहत वितरणमा भईरहेको पक्षपात एंवम् विभेद तत्काल रोक्नकालागि अनुगमन गर्न माग गर्दछौं ।’