राजविराज , १६ साउन । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका बाढी पीडितहरुका लागि निजी बैकिङ्ग सेवा प्रदायक संस्था एनएमबी बैंकद्वारा राहत सामग्री उपलब्ध गराईएको छ ।
पचास परिवार बाढी पीडितहरुकालागि पाल, खाद्यान्न लगायतका सामग्री बैंकले उपलब्ध गराएको हो । तिलाठी कोईलाडी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजुकुमार झाका अनुसार तिलाठी स्थित एनएमबी बैंकको कार्यालयमै मङ्गलवार साँझ उक्त राहत सामग्री हस्तान्तरण गरिएको छ ।
एनएमबी बैंकका प्रदेश नम्बर २ का प्रमुख राजेश तिमिल्सिनाले उक्त राहत सामग्री तिलाठी कोईलाडी गाउँपालिकाका उपमेयर सुचिता कुमारी यादवको उपस्थितीमा गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरेका थिए । तिलाठी कोईलाडी गाउँपालिकामा बैंकिङ्ग सेवा समेत प्रदान गर्दै आएकाको कारणले भए पनि आफुले गाउँपालिकाको विपत्तीको वेलामा सानो भएपनि केहि सहयोग गरौ भने उद्देश्यले राहत सामग्री लिएर आएको तिमिल्सिनाले जानकारी दिएका छन् ।
गत असार २८ गत साउन ८ गते गरी दुई पटक आएको बाढीले तिलाठी कोईलाडी गाउँपालिकाको झण्डै ३ हजार परिवार भन्दा वढी प्रभावित भएको अवस्था छ । यसअघि प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले तिलाठी कोईलाडी गाउँपालिकाको विपद कोषमा १ लाख नगद सहयोग गरेका थिए भने गाउँपालिकाको वडा नम्बर ४ र ५ का लागि ३ वटा डुङ्गा समेत प्रदान गरेका छन् ।
यसैगरी पूर्व मन्त्री एवम् नेकपाका नेता उमेशकुमारयादवले समेत गाउँपालिकाको विपद कोषमा २५ हजार नगद सहयोग गरेको गाउँपालिकाका विपद् व्यवस्थापन कार्यक्रम संयोजक राजेशकुमार झाले जानकारी गराएका छन् ।