राजविराज, १५ साउन । मानव अधिकार, प्रेस स्वतन्त्रता र सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै राजविराज नगरपालिका–६ निवासी मनोहरकुमार पोखरेललाई ‘बैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०७६’ प्रदान गरिने भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २७औँ स्मृति दिवसका अवसरमा राजविराजमा हुने समारोहमा पोखरेललाई सम्मान गरिने बैद्य–प्रकाश मानव अधिकार कोषका संस्थापक बैद्यनाथ झाले जानकारी दिएका छन् । राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा साउन १८ गते आयोजना हुने समारोहमा पोखरेललाई दोसल्ला ओढाएर पुरस्कार स्वरुप तीन हजार पाँच सय पाँच रुपैयाँ र सम्मान–पत्र प्रदान गरिने छ ।
मानव अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि तीन दशकदेखि सप्तरी जिल्लालाई कर्मथलो बनाउँदै अन्याय र उत्पीडन विरुद्ध कटिवद्ध भई मानवअधिकारका समसामयिक विषयका साथै आधारभूत तहका जनताको अधिकारका सवालमा कलम चलाउन र वकालत गर्न सक्रिय पोखरेल मानवअधिकार आन्दोलनको अभिन्न अंगको रुपमा स्थापित छन् ।
इन्सेक प्रतिनिधीका रुपमा तीन पटक सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कारसहित सम्मानित उनी वि.स. २०४६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सहभागी हँुदै दलित, महिला, बालबालिका र उत्पीडितहरुमा जागरण ल्याउन हरसम्भव प्रयास गर्दै पछाडि परेका वर्गको आर्थिक, सामाजिक सुरक्षाका साथै न्याय प्राप्तिका लागि निरन्तर संघर्षरत छन् । मानवअधिकार रक्षकहरुको नेतृत्वदायी भूमिकामा रही मानवअधिकारको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका क्षेत्रमा पोखरेलले पु¥याउनु भएको योगदान उत्तिकै उत्साहजनक र सफल रहेको छ ।
प्रेस स्वतन्त्रता र मानवअधिकारको लागि संघीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकताको वकालत गर्दै विभिन्न राजनीतिक दल, पेशा र समुदायलाई एकताबद्ध बनाउन उनले निभाएको मध्यस्थकर्ता र नेतृत्वदायी भूमिका प्रशंसनीय छ । यस क्रममा उनले करिब तीन महिना प्रहरी हिरासत र कारागारमा यातना भोगेका छन् ।
राजविराज जेसीज, ब्लड डोनर्स एशोसिएसन सप्तरी, स्वतन्त्र बिद्यार्थी युनियन, लैङ्गिक ंिहसा नियन्त्रण जिल्ला सञ्जाल, सगरमाथा साहित्य परिषद्, घटना दर्ता अभियान, मानवअधिकार रक्षक परिषद्को नेतृत्वदायी भूमिका निर्वाह गरेका कुशल वक्ता र प्रखर लेखन क्षमताका धनी पोखरेलले पत्रकारिता र अनेकौं सामाजिक संघ–संस्था र सञ्जालमार्फत मानव अधिकारको संरक्षण, सम्बद्र्धन र सम्मान परिपालनामा राज्यलाई जवाफदेही र जिम्मेवार बनाउन इमान्दारीपूर्वक भूमिका निर्वाह गर्दै आएका छन् । मानव जीवन जोगाउन उनले राजविराजमा पहिलो पटक रक्तकोषको स्थापना गर्दै स्वयं ४५ पटक रक्तदान समेत गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज नगरपालिका–७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०७६ बाट सम्मानित हुने पोखरेल चौथों व्यक्तित्व हुन् । पहिलो पटक दलित आन्दोलनका अगुवा बलदेव राम, दोस्रोपटक युक्तिलाल मरिक र तेस्रोपटक असर्फी सदालाई सम्मानित गरिएको थियो ।
नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ एयरबसको विमान दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा चार वर्षदेखि सप्तरीमा मानव अधिकार र सामाजिक न्यायमा महत्वपूर्ण योगदान पु¥याउनेलाई सम्मान गरिँदै आएको छ ।