राजविराज, २ साउन । राजविराज नगरपालिकाका असन्तुष्ट वडा सदस्यहरुले आफ्नै कार्यालयमा सूचना माग गर्दै निवेदन दर्ता गराएका छन् ।
सार्वजनिक सरोकारको सूचना माग गर्दै १३ जना वडाका जनप्रतिनिधीहरुले मङ्गलवार निवेदन दर्ता गराएका हुन् । वडा नम्वर १ देखि वडा नम्वर १६ सम्मका वडा कार्यालयहरुको सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ बमोजिम तोकिएका सूचनाहरुको अद्यावधिकरण र प्रकाशन नभएको कारण आफुहरुको पदीय जिम्मेवारी तथा जवाफदेहिताको निर्वहन गर्न समेत कठिनाई भएको भन्दै सूचनाको हकको दफा ३, ४, ५, ७ र ८ बमोजिम प्रमुख प्रशासकीय अधिकृतलाई सम्वोधन गरेर उनीहरुले निवेदन दिएका छन् ।
असन्तुष्ट सदस्यहरुले आर्थिक २०७४÷०७५ तथा आर्थिक वर्ष २०७५÷०७६ को हालसम्मको १६ ओटै वडाको विकासीय योजनाका कामहरुको विवरण, २०७४÷०७५ तथा आर्थिक वर्ष २०७५÷०७६ को योजनागत खर्च विवरण, पेश्की लिई फर्छ्यौट गर्न बाँकी रहेको रकमको विवरण माग गरेका छन् । वडा कार्यालयहरुले खर्च गरेको हालसम्मको विवरण, कर्मचारीहरुको संख्या र कार्य विवरण लगायतका सूचनाहरु माग गरिएको वडा सदस्य पार्थो सरकारले जानकारी दिएका छन् ।
पहिलो, दोस्रो र तेस्रो नगरसभाबाट भएका निर्णयहरु र नगरपालिकाको हालसम्मको प्रत्येक बैठकको प्रमाणित प्रतिलिपी, नगरस्तरीय योजनाहरुको विवरण, नगरस्तरीय लक्षित कार्यक्रमको वितरण विवरण, राजविराज नगरपालिकाको सञ्चित कोषमा रहेको हालसम्मको विवरण वडा सदस्यहरुले माग गरेका छन् । वडा नम्वर १ का खेलानन्द यादव, वडा नम्वर ३ का फुर्कान अहमद खान, सुशील कुमार गुप्ता, सोनी कुमारी रजक, वडा नम्वर ४ का रोशन अन्सारी, वडा नम्वर ५ का पार्थो सरकार, सिमा रजक, वडा नम्वर ६ का सदस्य राजकुमार चौधरी, बद्रीनारायण यादव, चना देवी सदा, गङ्गीया देवी रजक, वडा नम्वर ७ का असियावती देवी विश्वकर्मा र वडा नम्वर ९ का सदस्य भुपनारायण यादवले संयुक्त रुपमा सूचना माग गर्दै निवेदन दर्ता गराएका छन् ।
गत असार २७ गते आयोजित कार्यशैली एवम् नीति तथा कार्यक्रमको प्रक्रिया विरुद्ध वडा सदस्यहरुले वहिष्कार गर्दै आन्दोलनमा उत्रेका छन् । विकास निमार्ण कार्यको नाउँमा व्यापक आर्थिक अनियमिता भईरहेको, निर्माण स्थलहरुमा होडीङ्ग बोर्ड नहुनु, सार्वजनिक लेखा परीक्षण नहुनु, बन्दकोठामा उपभोक्ता समिति गठन हुनु, स्थानिय वास्तविक उपभोक्ताहरुलाई विना सूचना आसेपासेहरुलाई उपभोक्ता समिति गठन गरी काम गराउनु, त्यस्ता कामहरु गुणस्तरीय नहुनु, पब्लिक विन्देश्वरी मा.वि.मा निमार्णाधीन सरस्वती मन्दिर, राजविराज वडा नम्वर १ को रा.प्रा.वि.सरस्वती मन्दिरको निर्माणमा लाखौको अनियमितता भएको उनीहरुको आरोप छ ।
राष्ट्रिय
वडा सदस्यहरुले मागे राजविराज नगरपालिसँग सम्पूर्ण विवरण
सूचनाको हक प्रयोग गर्दै दर्ता गराए सामुहिक निवेदन