राजविराज, १ साउन । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उप–प्रधानमन्त्री उपेन्द्र यादवसहितको टोलीले बुधबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर– १ तिलाठी पुगेर बाढी पीडितको अवस्थाबारे जानकारी लिएका छन् ।
बाढीले पु¥याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिकपूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन लगायतको टोलीले बाढी पीडितहरुको अवस्थाबारे जनाकारी लिएका हुन् । संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद एवम् पूर्वमन्त्री प्रभु साह, प्रदेश नम्वर २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, पूर्व सांसद अशोक कुमार मण्डल ‘अमर’ सहितको टोलीले स्थलगत निरीक्षण गर्दै समस्याको स्थायी समाधानबारे छलफल भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए ।
तिलाठीमा बाढीले भत्काएको बाँध निर्माण भईरहेको स्थानमा गई उप प्रधानमन्त्री उपेन्द्र यादव, कृषिमन्त्री शैलेन्द्र साह, सांसदद्वय प्रभु साह र सुमनराज प्याकुरेल लगायतले अवलोकन गरेका छन् । उक्त स्थानमा राजविराजस्थित नेपाली सेनाको भीमदल गण, जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोलीले बाँध निर्माण गर्ने कार्य गरिरहेको गाउँपालिकाका विपद् जोखिमन्युनीकरण अधिकृत राजेशकुमार झाले जानकारी दिएका छन् ।
