राजविराज, १९ असार । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका सल्लाहकार एवम थारु कल्याण कारिणी सभाका पुर्व सभापती उपेन्द्र नारायण चौधरी(पगडीवला)को विहिवार निधन भएको छ ।
लामो समयदेखि डाइविटिज र प्यारालाईसिस रोगबाट पीडित पगडीवालाको शम्भुनाथ नगरपालिका– ९ स्थित आफ्नै निवासमा विहान ८ वजेको समयमा ६० वर्षको उमेरमा निधन भएको हो । आदिवासी जनजाति, थारु आन्दोलनमा सक्रिय स्वर्गीय चौधरी विगत वर्षदेखि थलिएका थिए । उनलाई नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराए पनि रोग निको नभएपछि दश दिन अघि मात्र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट घर फर्काएको थियो । स्वर्गीय पगडीवालाको पार्थिक शरिरमाथि आदिवासी जनजाति महासंघ सप्तरीद्वारा अन्तिम श्रदान्जली अर्पण गरेपछि गाउँमै अन्तेष्टी गरिएको छ । 
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीद्वारा स्वर्गीय पगडीवालाको पार्थिक शरिरमा झण्डा र खादा ओढाएर अन्तिम श्रद्धाञ्जली दिईएको छ । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङले श्रदान्जली दिदै स्वर्गीय पगडीवाला आदिवासी जनजाति र थारु समुदायको पथपर्दक रहेको चर्चा गरे । उनले पगडीवालाको निधनले आदिवासी र थारुलाई मात्र नभएर पहिचानको आन्दोलनमा ठूलो क्षति भएको भन्दै दुख ब्यक्त गरे ।
संस्कृती जागरण अभियानमा ठूलो योगदान दिएका स्वर्गीय चौधरीलाई अन्तिम श्रदान्जली दिन थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य दिल कुमारी चौधरी, नेपाल अदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरी, सल्लाहकार यूगुतलाल चौधरी, थरुहट थारुवान आन्दोलन तयारी समितीका केन्द्रीय सदस्य श्रवण थारु, सप्तरी जिल्ला संयोजक उचितलाल चौधरी, समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य विनोद चौधरी, थाकसका पुर्व केन्द्रीय सदस्य कन्तालाल चौधरी, जिल्ला सभापति पुर्ण प्रसाद चौधरी लगायतका विभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधिहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आदिवासी जनजाति महासंघ सप्तरीका संस्थापक सदस्य र हाल जिल्ला सल्लाकार, थाकस सप्तरीमा २०५८ देखि २०६१ र २०६५ देखि २०६९ सम्म दुई कार्यकाल नेतृत्व गरेका स्वर्गीय चौधरीले सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान दिएका छन् । सामाजिक क्षेत्रमा सर्वस्व समर्पण गरेका स्वर्गीय पगडीवाला दुई भाइ छोरा र ६ वहिनी छोरी र पत्नी राम कुमारी चौधरी रहेका छन् ।