• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दिल्लीबाट सप्तरी हुँदै चीनको सिमासम्म राष्ट्रिय राजमार्गः उप–प्रम यादव

दिल्लीबाट सप्तरी हुँदै चीनको सिमासम्म राष्ट्रिय राजमार्गः उप–प्रम यादव

राजविराज, १८ असार । संघीय सरकारका उप–प्रधान एवम् स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले भारतको दिल्लीबाट मधेशको सप्तरी हुँदै सिधै चीनको सिमासम्म जाने राष्ट्रिय राजमार्ग निर्माण हुने बताएका छन् ।
सप्तरीको राजविराजमा बुधबार ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पुर्वाधार तयारी विकास समिति कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकार विकास र समृद्धिको बाटोमा अघि बढेको बताउँदै उनले भने ‘भारतको दिल्लीबाट सप्तरी हुँदै गाईघाट, कटारी, ओखलढुङ्गा, खोटाङ्ग हुँदै सिधै चाइनाको बोर्डरसम्म पुग्ने राष्ट्रिय राजमार्गको परिकल्पना गरेका छौं, यो राष्ट्रिय राजमार्ग निर्माण भईसकेपछि सप्तरी जिल्लाको औद्योगिक विकास एवम् आर्थिक समृद्धिमा कायापलट हुनेछ ।’
विकास निर्माण लगायतका कामहरुमा राजनीतिक दलहरुले एकअर्काको विरोध गर्ने कार्यलाई त्यागेर सहकार्य गर्दै विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले जोड दिए । चौतर्फी रुपमा विकास निर्माण कार्यले तिब्रता पाएको बताउँदै उनले भने ‘विकास निर्माण र देश बनाउने कार्यमा यो पार्टी वा त्यो पार्टी गर्न छाडौं, बरु चुनावको बेलामा प्रतिष्पर्धा गरौंला ।’

‘भारतको दिल्लीबाट सप्तरी हुँदै गाईघाट, कटारी, ओखलढुङ्गा, खोटाङ्ग हुँदै सिधै चाइनाको बोर्डरसम्म पुग्ने राष्ट्रिय राजमार्गको परिकल्पना गरेका छौं, यो राष्ट्रिय राजमार्ग निर्माण भईसकेपछि सप्तरी जिल्लाको औद्योगिक विकास एवम् आर्थिक समृद्धिमा कायापलट हुनेछ ।’

कुनैबेला हरेक क्षेत्रमा अगाडि रहेको सप्तरी जिल्लाको अवस्था एकदमै खस्किएको भन्दै आफैभित्रको कमीकमजोरीलाई सुधार गर्दै समुचित माहौल बनाउनुपर्नेमा उनले जोड दिए । भविष्यका कर्णधार मानिने यूवा शक्ति कुलतमा फँसेको तथा मानसिक समस्याको शिकार हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री यादवले भने ‘यूवा शक्ति नशा सेवन लगायतका कुलतमा फँस्नु तथा विभिन्न कारणले मानसिक रुपमा अस्वस्थ हुनु सिङ्गो देशकैलागि चिन्ताको विषय भएकोले समाजका वौद्धिकवर्ग सजग हुनु जरुरी छ ।’


‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को विभिन्न अफवाहहरु फैलाईएकोले अब त्यस्ता भ्रमको पछाडि नपर्न उनले आग्रह गरे । गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा नसिंङ्ग कलेजको निर्माण कार्य द्रूत गतिमा भईरहेको भन्दै मन्त्री यादवले आउँदो वर्षदेखि नै पोष्ट ग्रेजुएट अन्तर्गत एम.डी. लगायतको पढाई शुरु भईसक्ने जानकारी दिए ।


प्रारम्भिक चरणमा कुल ९ अर्बको लागतमा निर्माण हुन लागेको ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को काम तीब्र रुपमा अगाडि बढ्ने जानकारी दिँदै उनले भने ‘असार महिनाभित्रै भवनको पूर्ण डिपिआर भई निर्माण कार्य शुरु गर्नु अघि शिलान्यासको तयारी गरिने छ ।’ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनीधि सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेश २ की उपसभामुख उपमा देव, प्रदेश नम्वर २ को नीति तथा योजना आयोगका उपाध्यक्ष हरिवंश झा, प्रतिष्ठान पूर्वाधार विकास अध्ययन समितिका संयोजक डा. सुबोध अधिकारी, स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिका संयोजक सुनिल खड्का, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, समाजवादी पार्टीका प्रदेश सदस्य दिनेश कुमार यादव, पार्टीका जिल्ला अध्यक्ष केदार यादव, राष्ट्रिय जनता पाटी नेपालका नेता अमरनाथ मण्डल लगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पुर्वाधार तयारी विकास समितिका कार्यकारी निर्देशक डा. सञ्जय ठाकुरले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन अस्पतालका सूर्यकान्त झाले गरे ।


यसैबीच बुधवारै उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवसहित स्वास्थ्य मन्त्रालयको टोलीले निर्माणधीन भवनहरुको संरचनाबारे स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्रिपरिषद्को २०७५ पुष २३ गतेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानकालागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौल चोकमा ६२ विघा जग्गा उपलब्ध गराएको छ । संघीय सरकारले आगामी वर्ष २०७६/०७७ को बजेटमा ४० करोड रुपैयाँ समेत विनियोजन गरेको छ ।