राजविराज, १६ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर–९ पत्थरगाडाकी जसोधिया देवी यादव बोक्सीको आरोपमा ट्राफिक प्रहरीमा कार्यरत असईबाट कुटिएकी छिन् ।
काठमाण्डौ स्थित ट्राफिक प्रहरीमा असई दर्जामा कार्यरत कमलदेव यादवले आफुलाई कुटपीट गरेको पीडित महिलाले आरोप लगाएकी हुन् । गत असार ५ गते र ७ गते आफुलाई उनी र उनकी पत्नी सीतादेवी यादवले बोक्सीको आरोपमा कुटपीट गरेको बताईन् ।
राजविराज स्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलन उनले आफु अन्यायमा परेको भन्दै पीडा सुनाईन् । भतिजो पर्ने कमलदेवकी पत्नी सीताले छोरा नजन्माएको, पाँच वर्षदेखि गर्भवती हुन नदिएको, छोरीलाई समेत विरामी पारेको आरोपमा आफुलाई कुटपीट गर्दै ज्यानमार्ने धम्की समेत दिएको जसोधियाले बताईन् ।
कमलदेवले आफुमाथि पटक–पटक कुटपीट गर्दैआएकोमा पञ्चायत समेत भएको जानकारी दिँदै उनले भनिन् ‘पछिल्लो पटक म र मेरी छोरी सरस्वती वरण्डामा बसेर घाँस काटिरहेको अवस्थामा कमलदेव दम्पत्ती आएर आमा–छोरीलाई निर्घात कुटपीट ग¥यो, छिमेकीहरु आएर बँचाईदिएकोले बल्ल ज्यान जोगियो ।’ अन्याय सहन नसकेर आफु घर नजिकै रहेको सुरक्षा बेस क्याम्प जाँदा आइतवार छलफलको समय दिएकोमा पुनः शनिवार पनि कुटपीट गरेको उनको भनाइ छ ।
कुटपीटबाट घाईते भई स्थानीय क्लिनिकमा तथा राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराएको जसोधियाले बताईन् । छोरी सरस्वती गम्भीर घाइते भएकोले विराटनगरबाट थप उपचार गराएको जानकारी दिँदै उनले भनिन् ‘पटक–पटक बोक्सीको आरोप लगाएर ममाथि कुटपीट हुँदैआएकोले सहन गर्न नसकेर न्यायकालागि गुहार माग्दै सदरमुकाम राजविराज आईपुगेकी छु ।’
बोक्सीको आरोपमा कुटपीट भएको विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी निवेदन लिएर राजविराज धाउँदै आए पनि निवेदन दर्ता नगरिदिएको पीडित जसोधियाले दुःखेसो सुनाईन् । निवेदन दर्ता नभएपछि पीडक कमलदेवले ‘मलाई कसैले केही गर्न सक्दैन, पुलिसमा गएपनि केही हुँदैन’ भन्दै थप पीडा दिने गरेको उनले बताईन् । प्रहरी उपरीक्षक समक्ष समेत विन्ती गर्दा कुनै सुनुवाई नभएपछि बाध्य भएर पत्रकार सम्मेलन गरी पीडा राखेको जसोधियाले गुनासो गरिन् । कमलदेव ट्राफिक प्रहरीको असई रहेकोले हालसम्म जिल्ला प्रहरी कार्यालयले पक्राउसम्म नगरेको जानकारी दिँदै उनले भनिन् ‘प्रहरी कार्यालयमा गुहार माग्न जाँदा पनि निवेदनसम्म दर्ता नभएकोले निवेदन दर्ता गरी दोषीलाई कार्वाही गर्न अनुरोध गर्दछु ।’
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोज कुमार यादवले महिलामाथि कुटपीट भएकोले कुटपीट मुद्दाको निवेदन लिएर आउन भनेकोमा बोक्सीको आरोपमा कुटपीट गरेको भनी निवेदन आएकोले दर्ता नगरेको बताए । बिना कसुरको दोषी बनाउने कार्य गर्न नमिल्ने भन्दै महिलाले लगाएको आरोप गलत रहेको प्रहरी उपरीक्षक यादवको दावी छ ।
राष्ट्रिय
बोक्सीको आरोपमा असईबाट कुटिईन् महिला
सप्तरी प्रहरीले लिएन जाहेरी, पीडक असईद्वारा धम्की