राजविराज, १६ असार । सप्तरी जिल्लाको राजविराजबाट सोमवारदेखि राष्ट्रिय परिचय पत्रकालागि विवरण सङ्कलन कार्य शुरु भएको छ ।
प्रतिनीधि सभा सदस्य, संविधानसभा सदस्य र राजनीतिक दलका प्रतिनीधिहरुबाट विवरण संकलन कार्य थालिएको हो । प्रमुख जिल्ला अधिकारी निवास परिसरमा रहेको सभागृहमा कार्यालय स्थापना गरी औपचारिक रुपमा उक्त कार्य शुभारम्भ गरिएको छ ।
प्रतिनीधि सभा सदस्य चन्द्रकान्त चौधरी र संविधान सभा सदस्य अशोक कुमार मण्डल राष्ट्रिय परिचयपत्रकालागि विवरण भरेर तस्वीर खिंचाउनुका साथै मेसिनमा औंठा छाप एवम् हस्ताक्षर गरेर कार्यक्रमको शुरुवात गरेका छन् ।
उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेपाली कांगेसका जिल्ला अध्यक्ष दिनेश यादव, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव लगायतका व्यक्तिहरु सहभागी भएका छन् । प्राथमिक चरणमा असार महिनाभरी प्रचार–प्रसारको रुपमा लगिने तथा प्रतिनीधि सभा सदस्य, संविधानसभा सदस्य र राजनीतिक दलका प्रतिनीधि, स्थानीय तहका जनप्रतिनीधिहरुको विवरण संकलन गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार भदौदेखि जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा राष्ट्रिय परिचय पत्र वितरण टोली पठाईने छ । सप्तरी जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ स्थानीय तह रहेको छ ।
के हो राष्ट्रिय परिचय पत्र ?
विश्वका विभिन्न देशहरुमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर प्रत्येक नागरिकलाई प्रदान गरिएको हुन्छ । यसरी प्रदान गरिएको परिचय नम्बरकै आधारमा समेत नागरिकलाई सेवा प्रवाह गर्ने सरकारी प्रणालीको विकास गर्ने लक्ष्य नेपाल सरकारले लिएको हो । भारतमा नागरिकलाई ‘आधार नम्बर’ प्रदान गर्ने गरिएको छ । यो नम्बर पाएका भारतीय नागरिकले यही नम्बरकै आधारमा सबै सरकारी निकायबाट सेवा प्राप्त गर्दछन् । यसरी नै सबै नेपाली नागरिकहरुका सबै विवरणहरु एकीकृत रुपमा समावेश भएको राष्ट्रिय परिचयपत्र तथा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराई सहज सरकारी सेवा प्रवाह गर्ने परिकल्पनाका साथ स्मार्ट कार्डको रुपमा राष्ट्रिय परिचयपत्रको विकास गरिएको हो ।
नागरिकका सबै विवरणहरु एकीकृत हुने हुँदा सरकारलाई आवश्यक परेको बेलामा नागरिकका सबै विवरण प्राप्त गर्न पनि राष्ट्रिय परिचयपत्रले मद्दत पु¥याउँछ । राष्ट्रिय परिचयपत्र बहुउपयोगी राष्ट्रिय पहिचानयुक्त स्मार्ट कार्ड हो । त्यसमा व्यक्तिको नाम, तस्वीर, दुबै हातका सबै औँलाहरुको औँठाछाप, उमेर, लिङ्ग, बाबु, आमा, हजुरबुवा, हजुरआमा, पति वा पत्नीको विवरण समावेश गरिन्छ । त्यसलाई मतदाता परिचयपत्र, व्यक्तिको राष्ट्रिय पहिचानपत्र, जग्गा जमीन र अन्य सम्पत्तिको अभिलेखका लागि बैंक तथा वित्तीय कारोबारको अभिलेखको रुपमा समेत प्रयोग गर्न सकिन्छ । यस्तो व्यवस्था भने नेपाल सरकारले क्रमशः गर्दै लैजाने जनाएको छ ।
परिचयपत्र यन्त्रले अध्ययन गर्नसक्ने गरी चिप्समा सबै विवरणहरु सङ्गृहित गरिन्छ । यसरी संग्रहित विवरण परिचयपत्र यन्त्र रहने सरकारी निकायबाट आवश्यक परेको समयमा परिमार्जनसमेत गर्न सकिन्छ । एक जना नागरिकको विवरण सङ्कलन गर्न १५ देखि २५ मिनेट समय लाग्दछ ।
राष्ट्रिय परिचयपत्रको यस्तो छ फाइदाः
राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रका अनुसार राष्ट्रिय परिचयपत्रलाई व्यक्तिको राष्ट्रिय पहिचानको प्रमाणपत्रका रुपमा, मतदाता परिचयपत्रका रुपमा, जग्गा जमीन र अन्य सम्पत्तिको अभिलेखका रुपमा, सामाजिक सुरक्षा कार्डका रुपमा, नेपाल सरकारको स्वामित्वमा रहेको निकाय वा संस्थाबाट प्रदान गरिने सेवा सुविधाका लागि राष्ट्रिय परिचयपत्र नम्बरलाई आबद्ध गरी सेवा तथा सुविधा उपलब्ध गराउन सकिनेछ । यस्तै, व्यक्तिका शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र जस्ता व्यक्तिगत विवरणहरुको अभिलेखको रुपमा समेत राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याइने सोच राखिएको छ ।
राष्ट्रिय परिचयपत्रको निर्माणले व्यक्तिको पहिचानसम्बन्धी समस्या हल हुनाका साथै सबै नागरिकको जैविक तथा व्यक्तिगत विवरणहरु सरकारसँग सुरक्षित हुने अवस्थाको निर्माण गर्नेछ । यस्तै, मुलुकको विकासका लागि यथार्थपरक योजना निर्माण गर्न, कार्यक्रम सञ्चालन गर्न तथा शान्ति सुरक्षा कायम गर्न राष्ट्रिय परिचयपत्रले सघाउ पु¥याउनेछ । 
दोहोरो वा नक्कली परिचयपत्र बनाई हुने गरेका आपराधिक कार्य राष्ट्रिय परिचयपत्रले धेरै हदसम्म न्यून गर्न सघाउ र्पुयाउने विश्वास गरिएको छ । आगामी दिन मतदाता परिचयपत्र, सामाजिक सुरक्षा कार्ड, सवारीचालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, जग्गा धनीपूर्जा जस्ता सरकारी कागजातहरुको सट्टामा एउटै कार्ड वा कार्ड नम्बरलाई प्रयोगमा ल्याउन सकिनेछ । कोही नदोहोरिने र कोही नछुट्ने गरी स्वच्छ, निष्पक्ष र पारदर्शी ढङ्गले समान रुपमा सेवा वितरण गरी सुशासनको प्रत्याभूति दिलाउनसमेत राष्ट्रिय परिचयपत्रले योगदान पु¥याउने विश्वास गरिएको छ ।
अहिलेसम्म नेपाली नागरिकसम्बन्धी विवरणहरु सरकारी कागजातमै सीमित छ जसका कारण सरकार वा सुरक्षा निकायलाई आवश्यक परेको समयमा नागरिकसम्बन्धी विवरण प्राप्त गर्न कठिन छ । अपराधका घटना मौलाउनुमा नागरिकसम्बन्धी विवरणको अभाव पनि मुख्य कारण थियो । यस्तै, सरकारी कागजात किर्ते गर्न तथा दोहोरो प्रमाणपत्र लिनसमेत व्यक्तिलाई सहज थियो । तर, अब भने व्यक्तिको तस्वीर, औँठाछाप, हस्ताक्षर, आफन्तसमेतको विवरण रहेको राष्ट्रिय परिचयपत्रको विकास भएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्दा नागरिकताको सक्कलै प्रमाणपत्रका आधारमा प्रमाणीकरण अधिकृतले प्रमाणित गरेको विवरण मात्रै अनलाइन प्रणालीमा दर्ता गरिन्छ । यस आर्थिक वर्षमा सात वटै प्रदेशका १५ वटा जिल्लाबाट वितरण प्रकृया अघि बढाइने छ । आगामी आर्थिक वर्षमा ३० जिल्लाबाट वितरण थाल्ने योजना रहे पनि त्यसलाई विस्तार गरेर बाँकी सबै जिल्लामा पुर्याउने नेपाल सरकारको लक्ष्य रहेको छ ।