वृजमान तामाङ
विरेन्द्र वजार, १४ असार । थारु नेता लक्ष्मण थारुले यथास्थितिमा संविधान स्वीकार्य हुन नसक्ने भन्दै जलाउने चेतावनी दिएका छन् ।
शम्भुनाथ स्थित नगरपालिका आदिवासी जनजाति महासंघ सप्तरीको सभाहलमा शनिवार थरुहट थारुवान राष्ट्रिय तयारी समितीद्धारा आयोजित थरुहट आन्दोलनका माँग मुद्दा र अबको बाटो सम्वन्धि जिल्ला भेलालाई सम्वोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । नेपालको संविधान २०७२ ले थरुहट आन्दोलनको माग र मुद्दालाई सम्वोधन नगरेको बताउदै नेता थारुले संशोधन नगरे यथास्थितिमा थारु समुदायले जस्ताको तस्तै संविधान स्वीकार गर्न नसक्ने उद्घोष गरे ।
सविधानको धारा २७४ र त्यसको १० वटा उपधारा र अनुसुची ४ लाई तत्काल संशोधन गरेर थारु, आदिवासी जनजाति, मधेशी, दलित लगायत उत्पीडित समुदायको अधिकार सुनिश्चित नगरे आगामी राष्ट्रिय भेलावाट संविधान जलाउने सहितको कठोर आन्दोलन घोषणा गर्ने चेतावनी दिए । अबको आन्दोलन निर्णयक हुने उल्लेख गर्दै अधिकार प्राप्तीका लागि आदिवासी, मधेशी, दलित एकजुट हुनुपर्नेमा जोड दिए ।
राजपा नेपालका संघीय सांसद चन्द्रकान्त चौधरीले आदिवासी जनजाति थारु मधेशी र लोकतन्त्र विरुद्ध सांसदमा दर्ता विधेयकको विरोधमा रहेको बताए । उनले राजपा नेपालले उठाएको संविधान संशोधनको मुद्दामा सरकार गम्भिर नभए सडक संघर्षमा जाने चेतावनी दिए । नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष राज कुमार लेखीले थारु लगायतका आदिवासी जनजातिले उठाएको थरुहट स्वायत्त प्रदेश प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताए । उनले अधिकारकालागि आफ्नो ज्यानको बाजी राखी थरुहट आन्दोलनमा सरिक हुने र जेल जिवन विताउनु हुने प्रति सम्मान व्यक्त गर्दै थारु लगायत पहिचानको आन्दोलन अझ सशक्त रुपले लाग्न आग्रह गरे । थरुहट थारुवान राष्ट्रिय आन्दोलन तयारी समितिका संयोजक मिनराज थारुले उत्पीडित समुदायहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
आन्दोलन तयारी समिती गठन गर्दा पहिचानवादी शक्ति सहितको गर्नुपर्नेमा जोड दिदै उनले मुद्दा मिल्ने घटकहरुलाई एकताको सन्देश दिन राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिए । थारु नेता श्रवण थारुको अध्यक्षतामा आयोजित जिल्ला भेलालाई नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, थारु कल्याणकारिणी सभा सिराहाका पुर्व सभापति दुर्गानन्द चौधरी, थारु नेतृ सुशीला चौधरी सम्वोधन गर्दै अधिकारकोलागि आन्दोलन आवश्यक रहेको बताए । थरुहट थारुवान राष्ट्रिय आन्दोलन तयारी समितिका सदस्य सचिव तुलसी थारुद्वारा सञ्चालित कार्यक्रममा सहसंयोजक रमेश चौधरीले भेला गर्नुको उदेश्यबारे प्रकाश पारे । जिल्ला भेलाले उचितलाल चौधरीको संयोजत्वमा २१ सदस्य आन्दोलन परिचालन समिति सप्तरी गठन गरेको छ । आगामी भदौ ७, ८ र ९ गते कैलालीको टिकापुरमा थरुहट विद्रोहको सम्झनामा राष्ट्रिय सम्मेलन सफल पार्न थारु नेताहरु देशव्यापी जिल्ला दौडाहामा रहेका छन् ।