राजविराज, २५ जेठ । सप्तरीको राजविराजमा शनिवार आयोजित एक कार्यक्रममा समाचार संकलन गर्न गएका पत्रकारहरुलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अपमानजनक व्यवहार गरेका छन् ।
सिडियो बङ्गलामा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले कार्यालयका प्रमुखहरुको समस्या एवम् गुनासो सुन्ने क्रममा प्रजिअ पौडेलले पत्रकारहरुलाई बाहिरै गएर बस्न भनेपछि पत्रकारहरु बाहिरिएका थिए । कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले प्रमुख जिल्ला अधिकारीको शैली घोर आपत्तिजनक एवम् अपमानजनक रहेको भन्दै आफुहरुले कार्यक्रम वहिष्कार गरेको जानकारी गराएर बाहिरिएका थिए । कार्यालय प्रमुखहरुले समस्या राखिरहँदा पत्रकारहरुले भिडियो तथा अडियो रेकर्ड समेत गरिरहेको देखेर उक्त कुराहरु मिडियामा सार्वजनिक हुने डरले पत्रकारहरुलाई बाहिर बस्न भनेका थिए ।
मन्त्री यादवको समेत उपस्थिति रहेको कार्यक्रममा सञ्चारकर्मीलाई सूचनाको हक तथा नागरिकलाई मौलिक हकबाट वञ्चित गराएपछि मन्त्री यादवको प्रमुख आतिथ्यमा आयोजित अर्को कार्यक्रम समेत बहिष्कार गरिएको छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ ले सूचनाको हकलाई नागरिकका मौलिक हकको रूपमा व्यवस्थित गरेको छ भने मौलिक हकलाई प्रचलित गर्न सूचनाको हक सम्वन्धित ऐन २०६४ र सूचनाको हक सम्वन्धि नियमावली २०६५ कार्यान्वयनमा रहेका छन् ।