राजविराज, २१ जेठ । प्रदेश नम्वर २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र्र प्रसाद साहले देशमै यो प्रदेशको शिक्षाको स्तर खस्किदो अवस्थामा रहेकोले सुधारकालागि विभिन्न कार्यक्रमहरु ल्याएको बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–१ स्थित पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीमा मङ्गलवार छात्राहरुलाई साइकल वितरण गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री साहले भने ‘्रदेशको शिक्षाको स्तर खस्किदो अवस्थामा रहेकोले सुधारकालागि विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले ल्याएको छ ।’
प्रदेश २ मा महिलाहरुको शैक्षिक अवस्था समेत चिन्ताजनक रहेको रहेको भन्दै सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ योजना ल्याएर छात्राहरुको प्रोत्साहन गर्न अगाडि बढेको उनले बताए । प्रदेश सरकारले ल्याएको योजना बाहेक पनि आफुले निर्वाचन क्षेत्र विकास कोषबाट छात्राहरुलाई साइकल वितरण गरेको मन्त्री साहले जानकारी दिए ।
कक्षा ८ उतीर्ण गरी ९ मा अध्ययनरत छोरीहरुलाई शिक्षाप्रति थप आकर्षण बढाउन आफुले माध्यमिक विद्यालय लौनियाँ तिलाठीका छात्राहरुलाई साइकल उपलब्ध गराएको उनले बताए । छोरीहरु किताब कापी बोकी साइकल चढेर नियमित रुपमा समयमै विद्यालय जान पाओस् भने आकांक्षाका साथ अगाडि बढेको जानकारी दिँदै मन्त्री साहले भने ‘अब हाम्रो गाउँ समाजका कुनै पनि छोरीहरु विद्यालय जानबाट वञ्चित नहोस् यसकालागि जनप्रतिनीधि मात्र नभई अभिभावक एवम् समाजका अगुवाहरु सजग हुनु आवश्यक छ ।
साइकल वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, समाजवादी पार्टीका प्रदेश मुख्य सचिव शम्भु झा, संघीय प्रेस फोरम नेपाल प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादव, वडा अध्यक्ष खगेन्द्र कुमार मण्डल लगायतले साइकल वितरण कार्यको प्रशंसा गरे ।
कक्षा ९ मा अध्ययरत छात्राहरुलाई विद्यालयमा टिकाई राख्न साइकल प्रदान गरिएको जनाईएको छ । प्रदेश २ सरकारले छोरीहरुलाई शिक्षामा पहुँच पु¥याउने ‘बेटी पढाउँ, बेटी बचाउँ’ अभियान नै सञ्चालनमा ल्याएको अवधारणालाई आत्मसात गर्दै प्रदेशका मन्त्री, सांसद, स्थानीय सरकार लगायतले छात्रा लक्षित कार्यक्रमलाई प्राथमिकताकासाथ अगाडि बढाएका छन् ।

राष्ट्रिय
मन्त्री साहद्वारा छात्राहरुलाई ७१ थान साइकल वितरण
‘हाम्रा छोरीहरु विद्यालय जानबाट वञ्चित नहोस्’