राजविराज, २० जेठ । भूमी व्यवस्था एवम् कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयतालाई दिगो र प्रभावकारी बनाउने उद्देश्यका साथ प्रदेश सरकार अगाडि बढिरहेको बताएका छन् ।
सप्तरीको राजविराजमा आयोजित समाजवादी पार्टी नेपालको जिल्ला समन्वय समितिको सपथ ग्रहण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । आफुहरुलाई सबैथोक निर्माण गरेरै अगाडि बढ्ने अवस्था रहेकोले चाहेर पनि जनताको अपेक्षा अनुसार परिणाम आउन नसकिरहेको स्वीकार्दै उनले भने ‘देशका अन्य प्रदेशहरुको ध्यान समेत प्रदेश नम्वर २ मै छ, संघीयताको भाग्य र भविष्य समेत प्रदेश २ मै केन्द्रित रहेकोले यसलाई दिगो र प्रभावकारी बनाउने उद्देश्यका साथ अगाडि बढिरहेका छौं ।’
समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहेका मन्त्री साहले प्रदेश सरकारका कामकार्वाही तथा गतिविधिहरु अझैं जनसमक्ष व्यवस्थित रुपमा पुग्न नसकिरहेको भन्दै आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै लगिने प्रतिवद्धता व्यक्त गरे । आफुले मन्त्री पद सम्हालेदेखि जनतालाई अग्रभागमा राखेर काम गर्दै आएको प्रष्ट्याउँदै आउँदा दिनहरुमा परिणाममुखि उपलब्धीहरु जनताले महशुष गर्ने बताए ।
पार्टीका नवनिर्वाचित जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अशोक कुमार यादवले वर्तमान अवस्थामा समाजवादी पार्टीको विकल्प नरहेको भन्दै अनावश्यक भ्रमहरुमा नपर्न आग्रह गरे । देशकै ठूलो शक्तिको रुपमा समाजवादी पार्टीलाई स्थापित गराउने उद्देश्यकासाथ थप जिम्मेवार नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु जगदेव यादव, शैलेश कुमार चौधरी, विनोद कुमार चौधरी, महेन्द्र प्रसाद यादव, भीमराज यादव, प्रदेशका मुख्य सचिव शम्भु झा, सदस्य दिनेश कुमार यादव, संघीय प्रेस फोरम प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, निर्वाचन अधिकृत श्यामदेव यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन पार्टीका जिल्ला सदस्य बृजमान तामाङ्गले गरे ।