• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हात्तीबाट जोगाउन प्रहरीद्वारा हवाई फायर

राजविराज, १८ जेठ । जङ्गली हात्तीको आक्रमणका कारण त्रसित बनेका सर्वसाधारणलाई जोगाउन सप्तरी प्रहरीले हवाई फायर खोलेको छ ।
कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केका जंगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन प्रहरीले शुक्रबार मध्यराती प्रहरीले चार राउण्ड हवाई फायर गरेको हो । रुपनी गाउँपालिकाको विभिन्न क्षेत्रमा जंगली हात्ती पस्न लागेको खबर पाएपछि पुगेको प्रहरी टोलीले गाउँलेलाई जोगाउन चार राउण्ड हवाई फायर गरी जंगली हात्तीलाई धपाएका छन् ।
राती सवा १२ बजेतिर कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको हात्तीको समूह आसपासका जंगली हुँदै गाउँमा प्रवेश गर्न लागेको खबर पाएपछि पुगेको प्रहरी टोलीले ४ राउण्ड हवाई फायर गरी हात्तीलाई धपाएको प्रहरी निरिक्षक गुरु तिमिल्सिनाले जानकारी दिएका छन् । स्थानीय जंगलमा हात्ती बस्ने र विशेषगरि रातीको समयमा गाउँ पस्न थालेपछि रुपनी गाउँपालिकाका साथै कृष्णासवरण र कंचनरुप नगरपालिका बासिन्दा त्रसित भएका छन् ।
जंगली हात्ती आतंकका कारण उक्त क्षेत्रका बासिन्दाहरु घरबाट बाहिर निस्कन पनि डराउन गरेका छन् । कोशी टप्पु बन्यजन्तु आरक्षका हात्तिको आक्रमणमा जिल्लामा एक वर्ष भित्र ६ जनाको मृत्यु भईसकेको छ । हालसम्म ४८ घर भत्काएको छ भने करिब सय विगहा भन्दा बढी जमिनमा लगाइएको अन्नबाली नष्ट गरेको स्थानिय कृषक सीताराम चौधरीले जानकारी दिएका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीले बस्ती पसेर आतंक मच्चाउनुका साथै मानवीय क्षति समेत पुर्याउने गरेको छ ।