राजविराज, २८ वैशाख । प्रदेश नम्वर–२ को सप्तरी र सिरहा जिल्लाका मिडियाहरुले विगत ९ महिनादेखि लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी नपाएको भन्दै २१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित भेलाले श्यामसुन्दर यादवको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । स्थानीय मिडियाहरुले लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी पाउने विषयमा कुनै टुङ्गो नरहेको सन्दर्भमा गठित समितिको सह–संयोजकमा श्रवण देव, सह–संयोजकः श्रवण कुमार देव र सचिवः नविन कुमार गुप्ता रहेका छन् । सदस्यमा दिनेश कुमार शर्मा, भूषण कुमार सिंह, गोपाल प्रसाद गुप्ता, राजु विश्वकर्मा, खगेन्द्र कार्की, सुरेन्द्र गुप्ता, ललिता साह, प्रिया सिंह थारु, महेश्वर भारती, सतिश कुमार दत्त, गणेशलाल देव, धर्मपाल राउत, देवराम यादव, शुभचन्द्र झा, कामानन्द माझी, विन्दु यादव, चन्दन यादव र जङ्गबहादुर सिंह रहेका छन् ।
प्रदेश अन्तर्गतका अन्य जिल्लाहरुबाट प्रकाशित पत्रिकाहरुले समेत पुस महिनायता लोककल्याणकारी विज्ञापनको भुक्तानी नपाएको संघर्ष समितिका संयोजक श्यामसुन्दर यादव र सचिव नविन कुमार गुप्ताद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ । भुक्तानीका लागि पटक–पटक सरोकारवाला निकायहरुमा जानकारी गराउँदा पनि हालसम्म सुनुवाई हुन नसकेको सप्तरी–सिरहाका पत्रिकाहरु कहाँ बुझाउने विषयमा समेत हालसम्म अन्यौलता रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका सम्पूर्ण कामकार्वाहीहरु सुचारु रहेको अवस्थामा पत्रिकाहरुलाई भुक्तानी नदिने नियतकासाथ सरकार अगाडि बढेको हामी मिडियाकर्मीहरुको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ‘हाल नेपाल सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले समेत सरकारको शैली र व्यवहारको पुष्टि गरेको छ ।’ हरेक राजनीतिक परिवर्तनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएका मिडिया तथा पत्रकारहरुलाई लगाम कस्ने नियतले नै विधेयक ल्याएको प्रेस स्वतन्त्रतामाथि नै अंकुश लगाउनेतर्फ लक्षित मिडिया विधेयक अविलम्व फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले आह्वान गरेको हरेक संघर्षहरुमा आफुहरुको साथ र सहभागिता रहने जनाईएको छ ।
पत्रकारहरुको बृहत छलफलबाट वैशाख २९ गते आइतवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, मुख्यमन्त्री, सञ्चारमन्त्री, नेपाल पत्रकार महासंघ, सूचना विभाग र प्रेस काउन्सिलमा माग सहितको ज्ञापन–पत्र पठाउने, जेठ १ गते बुधवार नेपाल पत्रकार महासंघ शाखा कार्यालय अगाडिबाट दवाव र्याली परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि सांकेतिक विरोध प्रदर्शन, सप्तरी सिरहासहित प्रदेश अन्तर्गतका नेपाल पत्रकार महासंघ सहित विभिन्न सङ्गठन एवम् मिडियाहरुसँग समन्वय गरी जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालय अगाडि विरोध कार्यक्रम आयोजना गर्ने लगायतका कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको जनाईएको छ । आफुहरुको समस्या समाधान नभए प्रदेश अन्तर्गतका जिल्लाहरुसँग समन्वय गरी थप सशक्त संघर्षका कार्यक्रमहरु अगाडि बढाउने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय
पत्रकारहरुको भेलाबाट संघर्ष समिति गठन
सिडियो कार्यालयदेखि मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्ने