• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीबाट शुरु भयो ‘रेशम चौधरी बचाऔं’ आन्दोलन

सप्तरीबाट शुरु भयो ‘रेशम चौधरी बचाऔं’ आन्दोलन

राजविराज, २७ वैशाख । जेलमा रहेका रेशम चौधरीसहित एघारै जनालाई मुक्त गराउन सप्तरीबाट आन्दोलनको घोषणा गरिएको छ ।
‘रेशम चौधरी वचाऔं अभियान संघर्ष समिति’ले आन्दोलन औपचारिक रुपमा आन्दोलनको घोषणा गरेको हो । सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजित तीन दिने थारु राष्ट्रिय भेलाले राज थारुको संयोजकत्वमा १ सय १ सदस्यिय संघर्ष समिति गठन गर्दै आन्दोलका कार्यक्रम सार्वजनिक गरेको छ ।
राजविराजमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार मेची–महाकाली जागरण अभियान, झापादेखि कञ्चनपुरसम्म सचेतना, प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री तथा सभामुखलाई ज्ञापन पत्र, मानवअधिकार आयोग, कुटनितिक नियोगलगायतसँग टिकापुर घटनाका विषयमा छलफल लगायतका दवाव मुलक आन्दोलनका कार्यक्रम सञ्चालन गरिने संघर्ष समितिका संयोजक राज थारुले जानकारी दिएका छन् ।
भेलाले थारुहट आन्दोलन तथा टिकापुर घटनाका आन्दोलनकारीहरु माथि लगाईएको सम्पुर्ण झुठा मुद्दा फिर्ता, ८ माघ ०७२ मा थारुहरुको घर, पसल जलाउने तथा ज्यादति गर्नेहरुलाई पक्राउ गरी कारवाही, थारुहट आन्दोलनका पीडित तथा शहिद परिवारलाई न्यायोचित क्षतिपुर्ति तथा आन्दोलनका क्रममा सरकार र आन्दोलनकारी विच भएको सहमति कार्यान्वयन गर्न भेलाले माग गरेको छ ।
राजनितिक रुपमा हल गर्नु पर्ने समस्यालाई आतंककारी घट्नाका रुपमा हेरिएको र रेशम चौधरी लगायतका आन्दोलनकारीलाई न्याय प्रदान गर्न आन्दोलनको विकल्प नभएको भेलाको निष्कर्ष अनुसार कार्यक्रम घोषणा भएको संयोजक थारुले बताए । कैलाली जिल्ला अदालतको २२ फागुन ०७५ को फैसला अनुसार रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला भएको छ ।
श्रवण चौधरी नाबालक भएकाले आधा सजाय तोकिएको छ । ७ भदौ ०७२ मा भएको टिकापुर घटनामा उनीहरु मुख्य अभियुक्त करार भएका छन् । घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने तथा ६ वर्षिय बालक टेकेन्द्र साउदसहित ९ जनाको मृत्यु भएको थियो ।