राजविराज, २३ वैशाख । आफ्नै पिताद्वारा इट्टाभट्टामा बन्धकी राखिएका ११ वर्षिय भारतीय बालकको सोमवार सप्तरी प्रशासनले उद्धार गरेको छ ।
आसाम राज्य स्थित धुव्री जिल्लाका इस्माइल एसकेले तीन लाख रुपैयाँमा ११ वर्षिय छोरा मोहीवुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही विरपुरको रतन इट्टा उद्योगमा बन्धकीबाट मुक्त गराई उद्धार गरिएको हो ।
इट्टा उद्योगमा भारतीय मजदूर उपलब्ध गराउँदैआएका स्माईलले रतनका इटा उद्योगकालागि मजदूर उपलब्ध गराईदिने दिने भन्दै छोरो बन्धकी राखेर पैसा लगेका थिए । गत माघ महिना छोरा मोहिवुललाई इटा उद्योगमा राखेर गएका इस्माईल फर्केर नआएपछि मोहीवुल अलपत्र परेका थिए । मोहीवुललाई इट्टाभट्टावाट निकालेर सुनसरीको इटहरी स्थित बाल हेल्पलाईनको संरक्षणमा पठाईएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी बताए ।
बालकलाई बन्धक बनाएर राखेको विषयमा आफुहरुले जानकारी पाएलगत्तै आफुहरु एक्सनमा आएको सप्तरीका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार अभिभावक लिन नआउने र संरक्षण गर्ने निकायको पनि सहजता नभएकाले उद्धारमा समय लागेको हो । बाल हेल्प लाइन संस्था बालकको संरक्षण गर्न तयार भएपछि त्यहाँ पठाईएको उनले बताए ।
यसअघि भारतीय दुतावास र प्रहरी मार्फत बालकलाई अभिभावकको जिम्मा लगाउने प्रयास सफल नभएको उनले जानकारी दिए । आधिकारीक पत्र लिएर आए प्रहरी मार्फत पनि बालकलाई पठाउने बालक जिम्मा लिन कोही नआएपछि अर्को विकल्प खोजिएको उनले बताए ।