• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शंकर माविका प्रअ गुप्ताद्वारा लाखौं रुपैयाँ हिनामिना

शंकर माविका प्रअ गुप्ताद्वारा लाखौं रुपैयाँ हिनामिना

राजविराज, २२ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–३, सुब्बाटोलस्थित शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलिपकुमार गुप्ताले किर्ते गरी लाखौं रकम हिनामिना गरेको रहस्योद्घाटन भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ, राजविराजले आर्थिक वर्ष २०७५÷०७६ को ‘माध्यमिक विद्यालय शिक्षक अनुदान’ शीर्षकमा पठाएको ७ लाख ३२ हजार रुपैयाँ गुप्ताले किर्ते गरी हिनामिना गरेको विषय सार्वजनिक भएको हो । प्रधानाध्यापक गुप्ताले विद्यालयका मुखिया श्रवण चौधरीको दस्तखत कीर्ते गरी रकम हिनामिना गरेको जनाईएको छ ।
राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको विद्यालयमा कुनै सूचना नै नगरी गुपचुप राखेको अध्यक्ष चौधरीले जानकारी दिए । बैंकमा रहेको १६०९ नम्बरको चल्ती खाताबाट रकम निकालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणधीर चौधरीको भनाइ छ । प्रअ गुप्ताले कीर्ते गरी रकम निकालेको स्वीकारसमेत गरिसकेका छन् ।
विद्यालयको खाता प्रअ गुप्ता र मुखिया चौधरीको संयुक्त दस्तखतबाट सञ्चालित छ । यद्यपी गुप्ताले बैंकबाट रकम झिक्नुअघि र पछि पनि सूचना गर्नुको सट्टा अर्कै चेक प्रयोग गरी रकम निकालिएको पाइएको छ ।
मुखिया चौधरीले पनि आफनो दस्तखत कीर्ते गरी गुप्ताले पटक(पटक गरी बैंकवाट रकम निकालेको बताए । बैंकबाट रकम निकाल्न चेक बुकसमेत अर्कै प्रयोग गर्ने गरेको पाइएको तथा विद्यालयका नाममा क्रम संख्या ००४८३०४००३ देखि ००४८३०४०२६ सम्मको चेक बुक छ । तर, मेरो समेत दस्तखत गरी ०४८३३११४३ नम्बरको चेकबाट रकम झिकिएको छ ।
प्रअले कीर्ते गरी रकम हिनामिना गरेको विषयमा कञ्चनरुप नगरपालिकाका मेयर बसन्त मिश्रले समेत बेवास्ता गरेको आरोप अध्यक्ष चौधरीले लगाए । आव २०७१÷०७२ देखि हालसम्म विद्यालयको ४० लाखभन्दा बढी रकम हिनामिना गरेको अनुमान गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सरोकारवालाहरूले बताएका छन् ।
शौचालय निर्माण, पिसिएफ शिक्षक र कार्यालय सहयोगीको तलब, छात्रवृत्ति र पाठ्यपुस्तकको रकम समेत गुप्ताले दुरुपयोग गरेको स्थानीयले आरोप लगाएका छन् ।
यता प्रअ गुप्ताले मुखियाको दस्तखत कीर्ते गरी रकम झिकेको विषय स्वीकार गरेका छन् । गत फागुन ५ गते उनले विद्यालयको लेटरप्याडमै आफूले रकम हिनामिना गरेको स्वीकार्दै कबुलियतनामा समेत गरेका छन् ।