जनकपुर, २१ बैशाख । प्रदेश नम्वर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समय सापेक्ष विज्ञान र प्रविधिको सही सदुपयोग गर्दै लैजानुपर्ने धारणा राखेका छन् ।
प्रविधिमैत्री शिक्षक समाज नेपालको प्रथम प्रदेश स्तरीय भेलाको शनिवार जनकपुरमा उद्घाटन गर्दे प्रमुख कायस्थले यस्तो बताएका हुन् । शिक्षा जगतमा पहिलेदेखि नै प्रविधिको प्रयोग हुँदै आईरहेको स्मरण गराउँदै आधुनिक समयमा प्रविधिले गरेको विकासलाई सकारात्मक रुपमा सही सदुपयोग गर्न उनले आग्रह गरे ।
अचेल युवा वर्गमा प्रविधिको दुरुपयोग गर्ने कार्यहरु पनि भईरहेकोप्रति चिन्ता व्यक्त गर्दै प्रविधिको सही सदुपयोग हुन सके कुशल तथा दक्ष युवाहरु तयार हुने उनले धारणा राखे । उनले प्रविधिको दुरुपयोग गर्दै जाँदा बच्चादेखि युवाहरुमा समेत यसको लत बस्ने जिकिर गरे । प्रविधिको उचित र सकारात्मक प्रयोग गर्दा मानसिक विकास हुने तथा गलत प्रयोग गर्दा नराम्रो विकृति तथा अपराधिक मानसिकताको विकास पनि हुन सक्ने धारणा राखे ।
कार्यक्रममा प्राध्यापक भोगेन्द्र झाले प्रविधिको विकासले स्वरोजगारमा बृद्धि हुने र समाज सकारात्मक दिशामा अघि बढ्ने धारणा राखे । प्रविधिमुलक सिपको जानकारी भए स्वदेश मात्रै नभएर पुरै विश्वमै रोजगार पाउन सकिने उनले तर्क राखे । कार्यक्रममा अधिकांश वक्ताले आधुनिक शिक्षा प्रणाली प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए ।
केन्द्रीय समितिका अध्यक्ष विरेन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा बब्लु प्रसाद रजक, मोनास्टिक विद्यालयका प्रिन्सिपल सोनु कुमार, केन्द्रीय समितिका सचिव देवी प्रसाद शर्मा, बिश्वलाल सिंह सहितको उपस्थिति थियो । समितिले प्रथम प्रदेश स्तरीय भेलाबाट २५ सदस्यीय तदर्थ समिति चयन गर्ने जनाईएको छ ।