• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमा माटोले पुरिएर मजदूरको मृत्यु

राजविराज, १९ वैशाख । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–६, गुदरी हटिया स्थित सपिङ्ग कम्प्लेक्स निर्माणमा खटिएका एक युवा कामदारको माटोले पुरेर मृत्यु भएको छ ।
सुनसरीको इनरुवा घर भएका २६ वर्षिय अर्सद अन्सारीको माटोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । भवनको जग निर्माणका लागि खनिएको खाल्टोमा माटो पन्साउने क्रममा भित्तो भक्किएर खसेको माटोले पुरिएर अन्सारी घाईते भएका थिए । घाइते अन्सारीलाई तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारकालागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
करिब ६ दशकअघि टाउन प्लानिङ गरी बसाइएको राजविराज स्थित गुदरी हटियामा विगत एक वर्षदेखि कम्प्लेक्स निर्माणको काम भईरहेको छ । ३ सय ८ कोठा भएको दुईतले कम्प्लेक्स निर्माणको काम रसुवा रोसन जेभी निर्माण कम्पनीले ठेक्का लिएको छ।
राजविराज हटिया व्यवस्थापन र केही शहरी सडक निर्माणका लागि शहरी विकास मन्त्रालयले छुट्याएको ३५ करोड १५ लाख रुपैयाँ मध्येवाट कम्प्लेक्स निर्माण भईरहेको राजविराज नगरपालिकाले जनाएको छ ।