• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सिण्डिकेट खडा गरी सञ्चालित पुस्तक महल बन्द

पुस्तक व्यवसायीले सम्भव भएसम्म छुट दिन सहमत
सिण्डिकेट खडा गरी सञ्चालित पुस्तक महल बन्द

राजविराज, १४ वैशाख । राजविराजका केही पुस्तक व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालित राजविराजको ‘पुस्तक महल’ औपचारिक रुपमै बन्द भएको छ ।
विद्यार्थी संगठनको विरोध र आन्दोलनपछि शनिवार सम्पन्न सर्वपक्षिय बैठकमा ‘पुस्तक महल’ वन्द गर्ने निर्णय भएको हो । पुस्तक महलले पाठ्यपुस्तक विक्री–वितरणमा सिन्डिकेट लागू गरेको विषय पुष्टि गर्दै उक्त पसल बन्द गर्ने र जिल्लाभरीका हरेक पुस्तक पसलवाट सहज रुपमा पाठ्यपुस्तक विक्री वितरणको ब्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।
निजि विद्यालयको पाठ्य पुस्तकमा ब्यवहारिकता हेरी सम्भव भएसम्मको छुट दिन पनि ब्यसायीहरु सहमत भएका छन् । यसअघि ब्यवसायीहरुले पाठ्यपुस्तकमा छुट नदिने निर्णय गरेका थिए । बैठकमा राजविराज नगरपालिकाका मेयर शम्भु यादव, पुस्तक ब्यवसायी महासंघ, सप्तरीका अध्यक्ष शिवनारायण साह (सुरज), विद्यार्थी संगठनका प्रतिनिधि लगायतको सहभागिता थियो ।
राजविराजका आधा दर्जनभन्दा बढी पुस्तक ब्यवसायीको संयुक्त लगानीमा सञ्चालित पुस्तक महल र सिन्डिकेटको विरोध गर्दै विद्यार्थी संगठनहरु विरोधमा थिए । उनीहरुले बैशाख १० गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र समेत बुझाएका थिए । स्थानीय प्रशासनले आफुहरुको आग्रहलाई बेवास्ता गरेको भन्दै आक्रोशित विद्यार्थीले बुधबार पुस्तक महलमा तालाबन्दी गरेका थिए । व्यवसायीको सेन्डिकेटले विद्यार्थी, अभिभावक मर्कामा परेको भन्दै अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी), संयुक्त विद्यार्थी फोरम, नेविसंघ, राष्ट्रिय विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनले त्यसको विरोध जनाउँदैआएका थिए ।