राजविराज, १३ वैशाख । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष समेत रहेका उप–प्रधान तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले पार्टीलाई थप उचाईमा पुर्याउन सम्पूर्ण नेता एवम् कार्यकर्ताहरु थप जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा आवश्यकता औंल्याएका छन् ।
सिरहाको लहानमा शुक्रवारदेखि शुरु भएको फोरम नेपालको मधेश प्रदेश समितिको अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । मधेशी, आदिवासी, दलित, जनजाति, मुस्लिम, पिछडावर्गसमेतको अधिकार सुनिश्चितताकालागि पार्टी अझैं संघर्षमा रहेको बताउँदै अध्यक्ष यादवले भने ‘मधेशमा मात्र नभई हिमाल र पहाडमा समेत यो पार्टी लोकप्रिय बन्दैगएको छ, आगामी दिनमा यसलाई थप उँचाईमा पुर्याउन नेता तथा कार्यकर्ता सबैले आ–आफ्नो स्थानबाट थप जिम्मेवार भएर अगाडि बढ्नु आवश्यक छ ।’
तराई मधेश प्रदेश समिति प्रदेश नम्वर २ का संयोजक रेणु यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रदेश नम्वर–२ का मुख्यमन्त्री एवं पार्टी उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहाय यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, अर्थमन्त्री विजय यादव, भूमी व्यवस्था एवम् कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहलगायतले मन्तव्य व्यक्त गरेका छन् ।
उद्घाटन सत्रमा पश्चात पार्टीका नेताहरु प्रदेश समितिको नयाँ नेतृत्वकालागि कसरतमा जुटेका छन् । पार्टीको तराई मधेश प्रदेश समिति संयोजक रेणु यादव, पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउत, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, प्रदेश सचिव शेषनारायण यादव, केन्द्रिय सदस्यहरू महाजन यादव, हरिनारायण यादव लगायतका नेताहरु समेत आफुलाई अध्यक्ष पदको प्रत्यासीको रुपमा उभ्याएका छन् ।
पार्टीको विधानमा केन्द्रिय पदाधिकारी भन्दा प्रदेश अध्यक्ष बढी शक्तिशाली हुने प्रावधान राखिएपछि अध्यक्ष पदमा नेताहरुको ध्यान केन्द्रित भएको छ । प्रदेश समितिको बिहीवार बसेको बैठकले मुख्य सचिव, कोषाध्यक्ष लगायतको प्रतिवेदनलाई पारित गर्दै प्रदेश अधिवेशनका लागि ३२ जना सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । त्यसमध्ये आठवटै जिल्लाबाट जिल्ला समन्वय समितिको सिफारिसमा ३–३ जना र ८ जना प्रदेश समितिले चयन गर्ने जनाईएको छ । अधिवेशनमा करिब ५ सय भन्दा बढी प्रतिनीधिको सहभागिता छ ।
राष्ट्रिय
फोरम नेपालको प्रदेश अधिवेशन लहानमा जारी
मुख्यमन्त्रीदेखि पूर्वमन्त्रीसम्म अध्यक्षका प्रत्यासी