• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दुधैला जल उपभोक्ताको नयाँ समिति गठन गर्न माँग

वृजमान तामाङ
बिरेन्द्र बजार, १३ बैशाख । दुधैला खोला जल उपभोक्ता संस्था पुर्नगठन गर्न रुपनी गाउँपालिका वडा नम्वर ६ का वासिन्दाले माग गरेको छन् ।
सुर्यनारायण मेहता, कुलानन्द चौधरी, बद्रीनारायण सरदार, शैलेन्द्र यादव लगायतका स्थानीयले सिंचाई डिभिजन कार्यालय राजविराजमा संयुक्त निवेदन दर्ता गराई नयाँ उपभोक्ता समिति गठन गर्न माग गरेका हुन । जल उपभोक्ता समितिका अध्यक्ष गोविन्द सिंह थापा मगर वडा अध्यक्ष निर्वाचित भएकोले नयाँ उपभोक्ता समिती गठन गर्न माँग गरेको निवेदक मध्येका सुर्यनारायण मेहताले बताए ।
जनप्रतिनीधि कुनै पनि उपभोक्ता समितिमा बस्न नपाउने कानूनलाई चुनौती दिदँै आर्थिक प्रलोभनमा परि वडा अध्यक्ष मगर उपभोक्ता समितीमा कायम रहेको उनले आरोप लगाएका छन् । अध्यक्ष मगर नेतृत्वको उपभोक्ता समितीलाई पटक–पटक योजना सञ्चालनमा भए–गरेका लागत खर्च के कति हो ? भनी सुचना माँग गर्दा दिन नमानेको अर्का निवेदक कुलानन्द चौधरीले बताए ।
ठूलो योजना सञ्चालन भएकोले उपभोक्ता र कर्मचारीको मिलोमतोमा आर्थिक चलखेल भएको उनले आशंका गरे । डिभिजन कार्यालय राजविराजमा काणुन विपरितका उपभोक्ता समितीले काम गरेको तथा पुन समिति गठन गरी योजना पारदर्शि गर्न आग्रह गर्दा समेत वेवास्था गरेको शैलेन्द्र प्रसाद यादवले जानकरी दिए ।
उपभोक्ता समिति पुर्नगठन नगरे अदालत सम्म पुग्ने उनीहरुले चेतावनी दिए । सप्तरीको रुपनी गाउँपालिका स्थित दुधैला खोलामा पानीको दिगो श्रोत नै नभएको क्षेत्रमा हेड ड्याम निर्माण कार्यमा लगानी गरेर करोडौको बजेट दुरुपयोग भएको समाचार सार्वजनिक हुँदा समेत उक्त योजनामा वर्षेनी लाखौं बजेट खर्च गर्दैआएको छ । बर्षायाममा आकाशे पानी परेको बेला मात्र पानीको सतहदेखि नै स्थानमा सिंचाई डिभिजन कार्यालय सप्तरीले उपलब्धी बिहिन करोडौ वजेट लगानी गर्दै आएको आरोप स्थानीयवासीले लगाउदै आएको छ ।
करोडांै खर्च गरेर भौतिक संरचनाहरु निर्माण गरेर पानीको स्थायी श्रोत नहँुदा सरकारले ब्यर्थको बजेट मात्र खर्च गरेको रुपनी गाउँपालिका वडा नम्वर ६ का स्थानीवासीले आरोप लगाएका छन् । दुधैला खोलामा सेक्टर प्लानका निम्ती हेड ड्याम निर्माणका गर्न आएको बजेटलाई जसरी भएपनी तह लगाउने नियतले सिंचाई डिभिजन कार्यालय सप्तरीदेखि जनप्रतिनिधीहरु समेत लागी परेको स्थानीयले आरोप लगाएका छन् ।
रुपनी गाउँपालिका वडा नम्वर ६ का पूर्व प्राध्यापक बशन्त बिश्वकर्माले योजना सञ्चालनमा ल्याउनु खुशीको कुरा भएपनि योजनाले सिमित केही ब्यक्तीहरु मोटाउने बाहेक खासै उपलब्धी नहुने बताए । सिंचाई डिभिजनका कर्मचारी, उपभोक्ता समिती, ठेकेदार र त्यससँग संग्लग्न व्यक्तिहरु बाहेक यस योजनाबाट आम जनताले लाभ लिन नसक्ने उनको भनाइ छ । साबिक तेरहौता गाबिसका उपाध्यक्ष बद्री सरदारले २०५४ सालमा १ करोड बजेट खर्च गरेर बनेको संरचना असफल सावित भईसकेको जानकारी दिँदै बर्षेनी पटक—पटक सोही योजना बजेट लगानी गर्नु भनेको बालुवामा पानी हाले सरह हुने बताए ।
मोटो रकम देखेर आर्थिक प्रलोभनमा नियम विपरित वडा अध्यक्ष गोविन्द सिंह थापा आफै उक्त योजनाको उपभोक्ता समितिको अध्यक्ष बनेको वताउँदै लक्षित क्षेत्रमा बजेट खर्च हुनेमा उनले शंका ब्यक्त गरे । उनले नियम विपरित वडा अध्यक्ष उपभोक्ता समितीको अध्यक्ष बनेको जानकारी दिए । दुधेला खोला सिंचाई योजना जल उपभोक्ता संस्था तेरहौता सितापुरका अध्यक्ष समेत रहेको रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष थापाले आफु बिगतदेखि नै उक्त योजनाको अध्यक्ष रहेको बताए । पछिलो पटक समेत उपभोक्त समिती निर्माण गर्ने क्रममा आफुलाई नै आम जनताले समर्थन गरेकोले वाध्य हुनुपरेको वडा अध्यक्ष थापाको कथन छ ।
उनले आफु वडा अध्यक्षमा निर्वाचित भएपछि उपभोक्ता समितिका अध्यक्ष पदवाट राजिनामा दिईसकेको र उपाध्यक्ष दिनेश साहलाई कार्यवाहक बनाएर योजना सञ्चालनमा रहेको प्रतिक्रिया दिए । यसवारे सिंचाई डिभिजन कार्यालय सप्तरीका प्रमुख ईन्जिनियर राम कुमार खङ्गसँग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।
यस अघि समेत सिंचाई जलउपभोक्ता संस्था र सिंचाई डिभिजन कार्यालयका कर्मचारीको मिलोमतोमा पानी नै नआउने कुलो खनेको भन्दै स्थानियवासीद्धारा व्यापक आलोचना गरेको समाचार सार्वजनिक भएको थियो । सिंचाई योजनामा २०५४ सालमा १ करोड लगानी भएका छन् । वर्षेनी विभिन्न वहानामा लाखौं खर्च हुने गरेका छ भने गत आ.ब.मा समेत १ करोड ५० लाख भन्दा वढी रकम खर्च गरेका छन् । चालु आवमा ५५ लाखको काम सुचारु अवस्थामा रहेका छन । यद्धपी सिंचाईको कुनै पनि सुविधा स्थानियले उपभोग गर्न पाएको छैन ।