• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विद्यार्थी सङ्गठनहरुद्वारा पुस्तक महलमा तालाबन्दी

विद्यार्थी सङ्गठनहरुद्वारा पुस्तक महलमा तालाबन्दी

राजविराज, १२ वैशाख । पुस्तक ब्यवसायीहरुद्वारा राजविराजमा संयुक्त रुपमा सञ्चालन गरिएको ‘पुस्तक महल’मा तालाबन्दी गरिएको छ ।
पुस्तक महलले पाठ्यपुस्तक विक्रीमा सिन्डिकेट लागु विद्याथी तथा अभिभावकलाई समस्यामा पारेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । व्यवसायीहरुको सिन्डिकेटले विद्यार्थी तथा अभिभावक मर्कामा परेको भन्दै अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), संयुक्त विद्यार्थी फोरम, नेविसंघ, राष्ट्रिय विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनले त्यसको विरोध जनाउँदैआएका छन् ।
उनीहरुले गत वैशाख १० गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र समेत वुझाएका थिए । उक्त ज्ञापनपत्रको विषयमा स्थानीय प्रशासनले कुनै कारवाही नगरेपछि विद्यार्थी संगठनहरु तालाबन्दी गरेका हुन् । ‘पाठ्यपुस्तकको सेन्डिकेट वन्द गर, शैक्षिक माफिया मुर्दावाद, विद्यार्थीलाई सहज रुपमा पुस्तक उपलब्ध गराउ’ लगायतका नारासहित विद्यार्थीहरुले जुलुस समेत निकालेका थिए ।
पाठ्यपुस्तकमा निजी विद्यालय र व्यवसायीको मिलेमतोमा सिन्डिकेट खडा गरेको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीले भने वास्तविकता बुझी कारबाही गर्न १८ वटै स्थानीय तहलाई पत्रचार गरेको छ । प्रशासनले मंगलवार ‘पुस्तक महल’ को पनि अनुगमन गरेको थियो ।
विद्यार्थी सङ्गठनहरुले आफनो पसलमा तालावन्दी गरेपछि पुस्तक महलमा आवद्ध ब्यवसायीहरुले राजविराजका अन्य पुस्तक पसल समेत बन्द गराएका छन् । समस्याको समाधान नभएसम्म पुस्तक पसलहरु समेत बन्द रहने जनाईएको छ ।