राजविराज, १० वैशाख । सप्तरीका पुस्तक व्यवसायीहरुले सिण्डिकेट खडा गरी पुस्तक महलको नामबाट विद्यार्थी एवम् अभिभावकको चरम शोषण गरिएको विषयमा संयुक्त टोलीले मङ्गलवार अनुगमन गरेको छ ।
खुल्ला रुपमा पाठ्यपुस्तक विक्री हुनुपर्नेमा केन्द्रिकृत गरी विक्री वितरण गरिरहेका कारण अभिभावकको आर्थिक दोहनका साथै घण्टौं कुर्नुपर्ने बाध्यता रहेको भनी व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि सम्मिलित टोलीले अनुगमन थालेका हुन् । पुस्तक महल (पुस्तक विक्री केन्द्र) विरुद्ध जिल्ला स्थित आधा दर्जन विद्यार्थी सङ्गठनहरुले आन्दोलनको चेतावनी जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको छ । विद्यार्थी संगठनले वुझाएको ज्ञापन पत्रमा अभिभावक र विद्यार्थीलाई आर्थिक र मानसिक भार थप्ने गरि सिण्डिकेट अनुसार महल सञ्चालन गरिएको पाइएकोले अनुगमन गरिएको छ ।
पुस्तक महल नगरपालिकामा दर्ता रहेको भनिएपनि कागजात नरहेको अनुगमनको क्रममा पाइएको टोलीका नेतृत्व गरिरहेका राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवले बताए । ६० लाखसम्म कारोवार गर्ने खुद्रा पसलले नगरपालिकाबाट अनुगमति लिएर सञ्चालन गर्ने व्यवस्था छ । तर, ६० लाख माथिका पसललाई घरेलु तथा साना उद्योग कार्यालयमा पनि दर्ता गर्नुपर्ने कानूनी प्रक्रिया रहेको टोलीका एक सदस्यले जानकारी दिए । यद्यपी, सम्पूर्ण कागजपत्र सहित बुधवार कार्यालयमा उपस्थित हुन भनिएको छ ।
कानूनी प्रक्रिया विपरित देखिएमा तत्काल कारवाही प्रक्रिया अघि बढाउने अधिकृत यादवले बताए । अनेरास्ववियु, समाजवादी विद्यार्थी फोरम, नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ लगायतका संगठनले सिण्डिकेटअनुसार पुस्तक महल बन्द गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र वुझाएका थिए ।
टोलीमा घरेलुका निमित्त कार्यालय संतोषकुमार साह, नासु रविन्द्र वुढाथोकी, प्रशासन कार्यालयका नासु ओमप्रसाद पौडेल लगायतको उपस्थिति थियो । 
यसरी लादियो सिण्डिकेट
शैक्षिक सत्र सुरु भएसँगै राजविराजका करिव एक दर्जन पुस्तक ब्यवसायीले संयुक्त रुपमा ‘पुस्तक महल’बाट विक्री सुरु गरेका छन् । अधिकांश नाम चलेका निजी विद्यालयका पुस्तक महलमा राखिएको छ । पालो पर्खेर पुस्तक किन्नु पर्ने वाध्यता छ । तर, विहानै देखि अभिभावक र विद्यार्थीको भिड लाग्ने गरेको छ ।
ब्यवसायीको चंगुलमा फँसेर विद्यालयहरुले तोकिएकै स्थानवाट पुस्तक किन्नु पर्ने वाध्यता बनाएका कारण आफुहरुले दुःख झेल्नुपर्ने बाध्यता रहेको अभिभावकहरुको गुनासो छ । कक्षा सञ्चालन हुने बेलामा कुनै एउटा पुस्तकको नाम लिएर फलानो विद्यालयमा पुस्तकको लिष्ट छ त्यहिवाट लिनु भनेर जानकारी गराईन्छ तर ती पुस्तक विरलै अन्य पसलमा पाईन्छ ।’
विद्यालयले हरेक वर्ष पुस्तक परिवर्तन गर्ने र पसलको सेटिङ्गमा अन्तिम समयमा लिष्ट सार्वजनिक गर्ने प्रकृयाकै कारण सर्वसाधारणले दुःख पाउने र आर्थिक रुपमा पनि घाटा ब्यहोर्नु परिरहेको उनीहरुको भनाई छ । ‘चिनेका पसलमा किन्न पाए केहि छुट पाइन्थ्यो। यस वर्ष कक्षा ५ का १२ मध्ये ७ वटा पुस्तक परिवर्तन भएछ’ रुपनी गाउँपालिका–१ रामनरेश यादव भन्छन् ‘परिवर्तन भएका पुस्तक अन्य पसलमा पाईदैन ।
यसवर्ष अधिकांश नाम चलेका ब्यवसायीहरुले एक जुट भएर संयुक्त पसल (पुस्तक महल) सञ्चालन गरेका छन् । एक पुस्तक ब्यवसायीका अनुसार पुस्तक महल संचालनमा आउनुका २ वटा कारण छन् । विगतका वर्षहरुमा आफनो पुस्तक लगाउने प्रतिस्पर्धाका कारण विद्यालयसँग कमिसनको वार्गेनिङ्ग हुन्थ्यो । तर, ब्यवसायी एकजुट भएपछि विद्यालयसँग कमिसनको वार्गेनिङ्ग हटेको छ । कमिसन दिनै नपर्ने र दिनै परे सवैको सहमतिमा थोरै दिए पुग्ने भएपछि ब्यवसायी एकजुट भए ।
अर्कोतर्फ पब्लिकेशनसँग उधारोमा पुस्तक ल्याएर विद्यालयमा लगानी गरेका पसलहरुले त्यो पैसा असुल गर्न सकेका छैनन् । सोहि वाध्यताका कारण विद्यालयले तिनै पुस्तक पषलमा लिष्ट वुझाउनु पर्ने वाध्यता छ । ‘यो सवै सेटिङ्ग पब्लिकेशनले नै मिलाएका हुन्’ ति ब्यवसायी भन्छन्–‘पब्लिकेशनले सिण्डिकेट वनाएर आफनो लगानी असुल गर्न खोजीरहका छन् ।’
राष्ट्रिय
सिण्डिकेटको रुपमा सञ्चालित ‘पुस्तक महल’को प्रशासनद्वारा अनुगमन
कागजपत्रसहित सिडियो कार्यालयमा उपस्थित हुन निर्देशन