• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा एक करोडको चेक हस्तान्तरण

प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा एक करोडको चेक हस्तान्तरण

जनकपुरधाम, ४ बैशाख । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नम्वर ३ मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् । प्रदेश ३ का मुख्यमन्त्री पौडेलले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका छन् ।
गत चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए । हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।
चेक बुभ्mदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेशसभालाई धन्यवाद ज्ञापन गरेका छन् ।
यता, चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
विपतमा आआफनो स्थानबाट एकअर्कालाई सहयोग गर्नुपर्ने सन्देश मुख्यमन्त्री पौडेलले दिएका छन् ।
यसअघि प्रदेश ३ का मुख्यमन्त्री पौडेल बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण समेत गरेका थिए । प्रदेश नम्वर ३ का सांसदहरुको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
बैंकमा जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले समेत मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरिन् । मुख्यमन्त्री पौडेलसँगै उपसभामुख तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रमेश शिवाकोटी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा, प्रदेश २ का मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कोमल खत्री लगायतको उपस्थिति थियो ।