राजविराज, २८ चैत्र । मानवीय समवेदनालाई मध्यनजर गर्दै राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकहरुले विहिवारदेखि बाहिरै बसेर उपचार सेवा थालेका छन् ।
वहिरंग सेवा अवरुद्ध पारेका चिकित्सकहरुले कार्यकक्षमा नबसी बाहिरै बसेर विरामीको उपचार शुरु गरेका हुन् । स्वास्थ्य सेवा लिन आएका विरामीहरुको पीरमर्कालाई मध्यनजर गर्दै पेशागत धर्म अनुसार बाहिरै सेवा दिन थालेको डा. रणजीत कुमार झाले जानकारी दिएका छन् ।
अञ्चल अस्पतालका चिकित्सकहरु डा. रणजीत कुमार झा, कल्पना साह, दिलिप कुमार लगायतका स्वास्थ्यकर्मी अस्पताल बाहिर कुर्सी राखेर बसेका थिए । बाहिरै बसेर भए पनि चिकित्सकहरु काम गर्न थालेपछि सर्वसाधारण खुशी भएका छन् । सरकारसँगको लडाईमा विरामी जाँच्न छोडनु आफ्नै धर्म विपरीत हुने भएकाले वाहिरै वसेर भएपनि सेवा दिन थालको डा. झाले बताए । 
‘हाम्रो आन्दोलनले विरामीलाई अन्याय गर्न हुँदैन’ उनले भने–‘वाहिर वसेर सेवा दिने सल्लाह अनुसार काम गर्न थाल्यौं ।’ सरकारले ल्याएको कर्मचारी समायोजन ऐन, २०७५ प्रति असन्तुष्टि जनाउँदै डाक्टरहरु देशब्यापी रुपमा आन्दोलनरत छन् । ऐनको दफा १४, १५ र १६ ले चिकित्सकहरुलाई अन्याय गरेको उनीहरुले वताएका छन् । दफा १४, १५ र १६ मा सरुवा, बढुवा र वृत्ति विकाससम्बन्धी व्यवस्था छ ।
समायोजन भएर गएको एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन नसक्ने तथा उनीहरू सेवाअवधिभर संघमा आउने बाटो पनि बन्द भएको उनीहरुको भनाइ छ । सरकारले डाक्टरहरुको सरुवा, बढुवा र वृत्ति विकासमा ऐनले अवरोध नगरेको र तोकिएको स्थानमा नगए कारवाही गर्नेसम्मको चेतावनी दिदै आएको छ ।