• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विदेश पठाईदिने नाममा मोटो रकम ठगेर उल्टै एजेन्टको धम्की

विदेश पठाईदिने नाममा मोटो रकम ठगेर उल्टै एजेन्टको धम्की

राजविराज, २७ चैत । एकपछि अर्को गरी वैदेशिक रोजगारीका नाममा सर्वसाधारण ठगिने क्रम न्युनिकरण हुनुको साटो बढ्दैगएको छ ।
पछिल्लो पटक सप्तरीको वेल्ही चपेना गाउँपालिका ६, का ४५ वर्षिय मो. फुलमान सेख र हनुमाननगर कंकालिनी नगरपालिका १२, का ४० वर्षिय मजेवुल खान आफ्नै जिल्लाका एजेन्टबाट ठगीमा परेका छन् । दुवै जना मंगलवार जिल्ला प्रशासन कार्यालय सप्तरीमा रहेको आप्रवासन स्रोत केन्द्रमा उजुरी दिन आएपछि घट्ना सार्वजनिक भएको छ । छिन्नमस्ता गाउँपालिका ६, लालापट्टिका युसुफ मियाँ र विष्णुपुर गाउँपालिकाका अफताव आलम ठगीमा परेका छन् ।
फुलमानले युसुफ र मजेवुलले अफताव विरुद्ध उजुरी दर्ता गराएका छन् । युसुफले फुलमानसँग १ लाख ६० हजार र अफतावले मजेवुलसँग २ लाख रुपैयाँ लिएर वेपत्ता भएको उजुरीमा जनाईएको छ । पैसा लिएपछि काठमाण्डौंको गौशाला स्थित जानकी होटलमा आफुलाई राखेर युसुफ भागेको फुलमानको आरोप छ । ठगिएको थाहा पाएर एक महिनापछि आफु घर फर्केको उनले वताए । ‘साहुकोमा घडेरी राखेर सयकडा ५ रुपैयाँले ऋण लिएर पैसा वुझाए’ उनले भने–‘तर, महिनौ दिनसम्म पनि विदेश जाने समय आएन ।’
काम पनि छुट्ेको र भएको घडेरी पनि साहुको ऋणमा डुवेकाले आफनो परिवार विचल्लीमा परेको उनले वताए । ‘वैशाखमा साहुको छोरीको विवाह छ, पैसा माग्न थालिसके’ उनी थप्छन्–‘पैसा लिएको मान्छे वेपत्ता छ, मसँग केहि वाँकी रहेन। अव कसरी पैसा वुझाउनु ?’ एजेन्टले तिर्ने भनेको होटलको १८ हजार रुपैयाँ पनि साहुले आफुसँगै असुलेको उनले दुखेसो सुनाए ।
फुलमानसँगै विदेश जाने सोच बनाएपछि ऋण तिर्ने लोभमा विदेशीने सोच वनाएका मजेवुलको पनि अवस्था उस्तै छ । उनले युसुफका साथी अफतावलाई पासपोर्ट र पैसा वुझाएका थिए । माईली छोरीको विवाह गर्दा लिएको १० लाख ऋण तिर्न विदेश जान खोज्दा थप २ लाख डुवेको जानकारी दिए ।
एजेन्टले उल्टै धम्की दिन थालेपछि उनीहरु न्यायकालागि राजविराज स्थित सुरक्षित आप्रवाशन सूचना केन्द्र आईपुगेका छन् । केन्द्रकी परामर्शदाता नीता चौधरीले एजेन्टलाई छलफलमा बोलाएर समस्याको समाधान खोजिने तथा त्यसबाट समस्या समाधान नभए कानूनी बाटो अवलम्वन गर्नमा आफुहरुले सहयोग गर्ने जानकारी दिईन् ।