• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हाकिमले नटेरेपछि दुई मेयरद्वारा सिंचाई कार्यालयमा तालाबन्दीको प्रयास

हाकिमले नटेरेपछि दुई मेयरद्वारा सिंचाई कार्यालयमा तालाबन्दीको प्रयास

राजविराज, २४ चैत्र । पत्राचार गर्दा पनि सूचना दिन आनाकानी गरेपछि सप्तरीका दुई स्थानीय सरकार प्रमुख सदरमुकाम राजविराज स्थित एक सरकारी कार्यालयमा तालाबन्दीको प्रयास गरेका छन् ।
आफुहरुलाई कुनै जानकारी नै नदिई सिंचाई सम्वन्धी मनोमानी ढङ्गले काम गरिरहेकोले उक्त विषयमा जानकारी लिन वोदेवर्साईन नगरपालिकाका मेयर आतेश कुमार सिंह र खडक नगरपालिकाका मेयर हेमायु हकले राजविराज स्थित जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयमा तालावन्दीको प्रयास गरेका हुन् । नगरपालिकामा नदी नियन्त्रण सम्वन्धी निर्माण कामकालागि विना कुनै सूचना उपभोक्ता समिति बनाई रकम पचाउने रणनीतिका साथ काम गरिरहेकोले आफुहरु त्यस विषयमा जानकारी लिन कार्यालय आएको मेयर सिंहले बताए ।
दुई मेयरसहित १ दर्जन जनप्रतिनिधिले डिभिजन कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न थालेपछि प्रहरीले रोकेका थिए । कार्यालयमा तालाबन्दीका क्रममा सामान्य घम्साघम्सी समेत भएको थियो । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आग्रहमा उनीहरुले तत्काल तालाबन्दी गर्ने कार्यलाई स्थगत गरे ।
संघीय सरकार तथा प्रदेश सरकारले सिंचाई तथा नदि नियन्त्रणका लागि छुट्याएको बजेटमा डिभिजन कार्यालयले मनोमानी गरेको मेयर सिंहको आरोप छ । खडक र विहुल नदि नियन्त्रणका लागि ४÷४ करोड रुपैया बजेट आएको जानकारीमा आए पनि उक्त विषय गुपचुपमै राखेर डिभिजन प्रमुखले रकम भ्रष्टाचार गर्न लागेकोले आफुहरुले चासो लिएको उनले बताए ।
आफनो नगरपालिका क्षेत्रभित्र सञ्चालन भईरहेको योजनाका विषयमा कार्यालयले जानकारी नदिएको र योजनाको विवरण माग गर्दा पनि उपलब्ध नगराएको उनले गुनासो छ । ‘एक महिनादेखि नदि नियन्त्रणको काम चलिरहँदा पनि आफुहरुलाई जानकारीसम्म नदिई वडा वा नगरपालिकाको सिफारिसमा उपभोक्ता समिति गठन गर्नुपर्नेमा त्यसबारे जानकारी समेत नदिएकोले बाध्य भएर सदरमुकाम राजविराज आईपुगेको जानकारी दिँदै मेयर सिंहले भने ‘पटक–पटक सूचना माग्दा पनि बेवास्ता गर्दैआएकोले बाध्य भएर आफै सिंचाई कार्यालयमै हामीहरु आईपुग्यौं ।’
नगरपालिकाले १५ दिनअघि लिखित रुपमा योजनाको जानकारी माग्दा डिभिजन प्रमुखले नदिएको र भेट गर्न खोज्दा समेत भागि–भागि हिडेको खडक नगरपालिकाका मेयर हेमायुले बताए । जनप्रतिनिधि कार्यालयमै तालाबन्दी गर्न आउदा समेत डिभिजन प्रमुख राजकुमार खङ्ग भने कार्यालय समेत छाडेर बाहिर निस्केकोले बाध्य भएर आफुहरु तालाबन्दी गर्ने निष्कर्षमा पुगेको उनले जानकारी दिए ।
यता कार्यालयका ईन्जिनियर वद्रिनारायण साहले कार्यालय प्रमुखको निर्देशन विना कुनै पनि योजनाको जानकारी दिन नमिल्ने भन्दै स्थानीय तहसँग समन्वय वा उसकै मातहतमा रहेर काम गर्नुपर्ने वाध्यकारी ब्यवस्था नभएको बताए । आफुहरुले सकेसम्म समन्वय गर्ने प्रयासमा रहेको भन्दै नियमकानून अनुसार नै आफुहरु काम गरिरहेको ई. साहको भनाई थियो ।