बृजमान तामाङ
विरेन्द्र वजार, २३ चैत्र । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर–६ स्थित भटनियाँमा शुत्रवार राती नगद सहित लाखौको गरगहना चोरी भएको छ ।
एकैसाथ पाँच घरवाट चोरले चाँदीको कडा, सिक्री, पाउजु, सुनको फूली, एल.सि.डी., मोवाइल लगायतको सरसमान चोरेर लगेको हो । चोरले सरोज सरदारको ३२ ईन्चको एल.सि.डी. १ थान, मोवाईल १ थान, चाँदीको गहना ४५ तोला, सुन २ आना, नगद ४० हजार, अण्डा १ कार्टुन, टर्च लाईट, घडी लताकपडा गरी एक लाख बाईस हजार बराबरको सम्पत्ति चोरेर लगेको छ ।
यसैगरी रामबाबु सरदारको चाँदीको गहना ११ तोला र नगद पाँच हजार गरी १५ हजार बराबरको चोरी भएको छ । यस्तै गुजरी देवी सदाको घरमा सिन खनेर बाकसमा राखेको ६० तोलाको चाँदीको गहना, सुन २ आना, नगद पाँच हजार गरी करिव ६० हजार धनमाल चोरी भएको छ ।
सुखरी सदाको २० तोला चाँदी र लताकपडा गरी लगभग १६ हजार चोरी भएको जनाएको छ । चोरहरुले सियालाल सरदारको घरमा समेत केही गरगहना र लताकपडा चोरेको स्थानीयले जानकारी दिएका छन । चोरहरुले बाकस उठाएर लगी नजिकै खेतमा लगेर ताल्चा फोरी गरगहना, नगद लगायतका सरसामान लगेर बारीमा बाकस छोडेको पीडितहरुले जानकारी दिएका छन् ।
केही दिनयता ग्रामिण क्षेत्रमा दिनहँुजसो चोरीको घटनामा बृद्धी भईरहेको छ । यसअघि अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर–३ हरिहरपुरमा समेत एकैदिन ३ वटा घरमा चोरी भएको स्थानीयवासीले जनाएका छन । दैनिक चोरी हुँदा समेत हालसम्म चोर भने पत्ता लाग्न नसक्दा स्थानीयवासिन्दा चोरी आतङ्कले त्रसित भएका छन् । 