राजविराज, २१ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत प्रदेश २ मा भएको प्रश्नपत्र आउट गर्ने प्रकरणमा संलग्न २ प्रहरी सहित ६ जनालाई केन्द्रीय अनुसन्धान व्युरोले विहीबार सार्वजनिक गरेको छ ।
संलग्न रहेका सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत २ प्रहरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको हो ।
अनुसन्धान व्यूरो (सिआईवी) का प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाहीले १४ र १५ गतेका दुवै प्रश्नपत्र सप्तरी निवासी प्रहरी जवान व्रम्हदेव सुनरैत यादवले सार्वजनिक गरेको बताए ।
प्रहरी नायव महानिरीक्षक शाहीले एकै ठाउँमा घर भएका र सँगै कार्यरत प्रहरी जवान दिपेन्द्रकुमार मण्डललाई सहयोग गर्न प्रश्नपत्रको पोका खोलेर मोबाइलबाट तस्विर खिंचेर सार्वजनिक भएको खुलेको छ । सोहि प्रश्नपत्र व्रह्मदेवले राजविराज १० स्थित दाजु विष्णुदेव यादवलाई पठाएको र एकवाट अर्को गर्दा गर्दै सामाजिक सञ्जालमा पुगेको पत्रकार सम्मेलनमा जनाएको छ । 
अनुसन्धानका क्रममा दुवै प्रश्नपत्र सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत यादवले उनका साथी प्रहरी जवान दीपेन्द्रकुमार मण्डललाई सहयोग गर्न लगाई निकालेको पाइएको शाहीले बताए । ईलाका प्रहरी इन्चार्जले राखेको साँचो चोरेर प्रश्नपत्रका पोका ब्लेडको चिर्दै फोटो खिचेर फेरि पोकाभित्र हालेको पाईएको छ । इन्चार्ज (सई) तुलसी भट्टराईसहित अन्य कसैको पनि संलग्नता नदेखिएको उनले जानकारी दिए ।
ब्रह्मदेवले प्रश्नपत्र निकाल्ने मात्र नभई सिरहाको वरहथवा माध्यमिक विद्यालय विष्णुपुरमा परीक्षा केन्द्र रहेको दीपेन्द्रको ठाउँमा बसेर परीक्षा दिइरहेको पनि पुष्टि भएको छ । ‘प्रवेशपत्रबाट दीपेन्द्रको फोटो हटाएर ब्रह्मदेवको फोटो टाँसी आफै परीक्षामा बसेको अनुसन्धानबाट खुलेको छ । प्रमुख शाहीका अनुसार त्यसमा प्रयोग भएको छाप समेत किर्ते गरेको पाइएको छ ।
पक्राउ परेका दुवै प्रहरीमध्ये २२ वर्षीय ब्रह्मदेव सप्तरीको राजविराज नगरपालिका १० र दीपेन्द्र राजविराज नगरपालिका ६ का हुन् । ब्रह्मदेवले साथीलाई झिकेको प्रश्नपत्र आफ्नै दाजु २८ वर्षीय विष्णुदेव मण्डललाई इमोमार्फत पठाएपछि सप्तरीमा समेत सार्वजनिक भएको शाहीले जानकारी दिए । उनले भने ‘विष्णुदेववाट मनोज यादव, मनोजबाट राजेश यादव र राजेशवाट उमेश यादव हुँदै प्रश्नपत्र विद्यार्थीको हातहातमा पुगेको हो ।’
प्रश्नपत्र आउट भएपछि शुरुमा १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म बिक्री भएको उनले बताए । ‘अनुसन्धानका क्रममा केही सामग्री डिजिटल ल्याबमा परीक्षणका लागि पठाएकोले उक्त रिपोर्ट आएपछि मात्र थप कुरा आउने प्रमुख शाहीले जानकारी दिए ।
प्रश्नपत्र शाहीले घटनामा संलग्न कसैलाई पनि नछोडिने बताउँदै उनले भने ‘प्रहरी महानिरीक्षकले नै यस विषयमा कडा कारबाही गरिने सन्देश पठाएको छ, प्रहरीलाई विभागीय कारबाही र सामान्य नागरिकसरह पनि कारवाही हुन्छ ।’ प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीको सहयोगमा भएको अनुसन्धानमा प्रहरीले अन्य करिब २० जनालाई पक्राउ गरेको थियो । बाँकीलाई सोधपुछपछि छोडिएको प्रहरी उपरीक्षक विष्टले पत्रकार सम्मेलनमा बताए ।
प्रदेश नम्वर २ को २ सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ परीक्षार्थी परीक्षामा सहभागी छन् ।