• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
उडान  ठप्प भएपछि संसदीय टोलीको ध्यानाकर्षण

राजविराज, २० चैत्र । सप्तरीको राजविराज विमानस्थलमा विमान सञ्चालन भएको १० महिना नवित्दै पुनः उडान सेवा ठप्प भएपछि संघीय संसद समितीको स्थलगत अध्ययन अवलोकन भ्रमण टोलीको ध्यानाकर्षण भएको छ ।
संघीय संसद, प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितीद्वारा गठित टोलीले विमानस्थलको वस्तुस्थिति बारे स्थलगत अवलोकन गरेका छन् । अवलोकन पश्चात बुधवार समितीले राजविराजमा पत्रकार सम्मेलन गर्दै समितीले विमानस्थलमा नियमित उडान सेवा सञ्चालन गर्न सरकारलाई निर्देशन दिने जनाएको छन् ।
विमानस्थलमा नियमित सेवा सञ्चालनका लागि पहल गर्ने तथा तेल आपूर्ति गर्ने विषयमा पनि आयल निगमसँग समन्वय गर्ने जनाएको छ । गत असार १० गतेदेखि श्री एयरलाइन्सले नियमित विमान सेवा थालिएकोमा गत सोमवारदेखि सुचना विना नै अनिश्चितकालिन सेवा बन्द गरेको छ ।
समितीले यसअघि राजविराज औद्योगिक क्षेत्रको वस्तुस्थिती बारे समेत स्थलगत अध्ययन अवलोकन गरेका छन् समितीले विमानस्थल र समस्याका उद्योगविहिन रहेको औद्योगिक क्षेत्रको अवस्था सुधार गर्न पहिलो चरणमा सम्वन्धित निकायसँग छलफल गर्ने तथा समाधानकालागि सरकारलाई निर्देशन दिने जनाएको छ ।
प्रतिनीधि सभाको उद्योग तथा वाणिज्य र रुम तथा उपभोक्ता हित समितिका सभापति नेतृत्वको स्थलगत अध्ययन अवलोकन भ्रमण टोलीमा सांसद सरिता गिरी, सांसद सुजाता परियार समेतका सहभागी थिए । उक्त टोलीले रुपनी–गाईघाट सडक, राजविराज–कुनौली सडक, कुनौलीको मैत्री पुल, न्यौर भन्सार नाका लगायतको अवस्थाबारे स्थलगत अध्ययन–अवलोकन गरेका छन् । पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजना गरिएको थियो ।