• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

रञ्जुको एकल चित्रकला प्रदर्शनी अवलोकन गर्नेमा पूर्व प्रधानमन्त्रीसम्म

रञ्जुको एकल चित्रकला प्रदर्शनी अवलोकन गर्नेमा पूर्व प्रधानमन्त्रीसम्म

राजविराज, १९ चैत्र । । काठमाण्डौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालेरीमा सप्तरीकी रञ्जु यादवको एकल चित्रकला प्रदर्शनी आकर्षणको केन्द्र बन्न पुगेको छ ।
कलर्स अफ चेन्ज’ नामक शनिवारदेखि शुरु भएको पाँच दिने प्रदर्शनी अवलोकनकर्ताहरुले मुक्तकण्ठले प्रदर्शन गर्ने गरेका छन् । सर्वसाधारणदेखि पूर्व प्रधानमन्त्रीहरुसम्मले प्रदर्शनीको अवलोकन गरेका छन् । प्रदर्शनीमा हालसम्म नेपालका पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता महन्थ ठाकुर, उद्योगमन्त्री मातृका प्रसाद यादव, पूर्वमन्त्री जितेन्द्रनारायण देव लगायतले अवलोकन गरेका छन् । प्रर्दशनी अवलोकन गर्न नागरिक समाजका अगुवा, पत्रकार, साहित्यकार, समाजसेवी, अधिकारकर्मी महिला, राजनीतिक दलका नेता, युवा, मैथिलीकर्मी लगायतले प्रदर्शनी अवलोकन गर्दै मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
प्रदर्शनीमा उनका २९ वटा कलाचित्र राखिएको छ । व्यावसायिक रुपमा मिथिला चित्रकलामा विगत ६ वर्षदेखि सक्रिय रहेकी यादवले पछिल्लो तीन वर्षमा कोरेका चित्रहरु एकल प्रदर्शनीमा राखेकी छिन् । नेपाली समाजमा भएका परिवर्तनलाई मात्र नभइ समाज निरन्तर परिवर्तन र गतिशील हुनुपर्ने आफ्नो चाहनाअनुसार आफ्ना चित्रहरु कोरेकोले प्रदर्शनीको नाम ‘कलर्स अफ चेन्ज’ राखिएको उहाँको भनाइ छ ।
प्रदर्शित कलाचित्रहरुमध्ये केही चित्रहरु नेपालको तराईमधेश र मिथिला क्षेत्रको संस्कृति, परम्परा र जीवनशैली भल्काउने खालका छन् भने अधिकांश चित्रहरु समाजमा व्याप्त विकृति, विसंगति र समस्यालाई उजागर गर्दै त्यसको विरोधमा कोरिएका छन् । विशेषगरी दाइजो प्रथा, बालिका भ्रुण हत्या, बाल विवाह, जातीय छुवाछुत, महिला हिंसा, महिला पुरुष असमानताजस्ता जल्दोबल्दो समस्या र विकृतिलाई चित्रकार यादवले आफ्ना कलाचित्रमार्फत् देखाएका मात्र छैनन्। उनले यी विसंगतिहरु मानव सभ्यताकै लागि कलङ्क र पछौटेपनको प्रतिक हुन् भन्ने खोजेकी छिन् । उनले भनिन् ‘हाम्रो समाज र मुलुकमा विद्यमान सामाजिक र सांस्कृतिक विकृति, विसंगति र अन्यायविरुद्ध आफ्ना कलाचित्रहरुमार्फत् मैले आफ्ना असहमति र रिस पोखेको हुँ ।’
चित्रकार यादवका अनुसार रङ्ग र ब्रस उनका हतियार हुन् जसलाई आर्ट पेपर र क्यान्भासमा प्रयोग गरेर समाजमा शताब्दीयौदेखि विद्यमान् अन्याय, अत्याचार र विकृतिविरुद्ध उनी संघर्षरत छिन् । चित्रकार यादवका कलाचित्रका चीन चरणहरु पाइन्छ । पहिलो, समाजमा व्याप्त समस्या र विकृतिको चित्रण । दोस्रो, समस्या र विकृतिसँग द्वन्द्व एवम् संघर्ष । तेस्रो, ती समस्या र विकृतिको समाधान ।
आफुले समाजमा विद्यमान् विसंगति, विकृति र अन्यायको चित्रण मात्रै आफ्नो चित्रहरुमा नगरेको भन्दै चित्रकार रञ्जुले त्यसको समाधान पनि आफ्ना चित्रहरुमार्फत् सुझाएको बताईन् । तराईमा व्याप्त दाइजो÷दहेज प्रथालाई लक्षित गर्दै त्यसको विरोधमा कोरिएका तीन वटा चित्र यादवले प्रदर्शनीमा राखिएको छ । त्यसैले शिक्षा र स्वतन्त्रता दिएपछि मात्र महिला र पुरुषबीचको असमानता र भेदभाव हट्ने सन्देश चित्रकार यादवले केही चित्रमार्फत् दिएकी छिन् ।
यस्तै, पति वैदेशिक रोजगारमा गएपछि पत्नीले घरपरिवारदेखि घरबाहिरका सबै काम सम्हाल्नु परेकोले त्यसले गर्दा महिला सशक्तिकरण हुने अवस्थाको चित्रण पनि उनको चित्रमा पाइन्छ ।