राजविराज, १५ चैत्र । एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएका कारण विज्ञान र समाजिक विषयको परीक्षा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरुले सप्तरीको राजविराजमा शुक्रवार साँझ तोडफोड गरेका छन् ।
आजको परीक्षा रद्द भएसँगै आक्रोशित परीक्षार्थीहरुले शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरुले ढुङ्गामुढा गरेर कार्यालयको सिसाहरु फुटेका छन् । यसैगरी ना १ झ ७८२ नम्वरको प्रहरीको गाडीमा समेत तोडफोड गरिएको छ ।
आक्रोशित परीक्षार्थीहरुका कारण सदरमुकाम राजविराज दिनभरी तनावग्रस्त बनेको थियो । सोही क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रदेश २ मा यसअघि अनिवार्य विज्ञान र सामाजिक विषयको परीक्षा रद्द भएको छ । प्रदेशमा दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ परीक्षार्थी परीक्षामा सम्मिलित छन् ।