राजविराज, १५ चैत्र । परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएपछि प्रदेश २ मा माध्यामिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज (शुक्रवार)को सामाजिक बिषयको परीक्षा पनि रद्द गरिएको छ ।
परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेशका ८ वटै जिल्लामा परीक्षा रद्द गरिएको हो । भाइबर, इमो, मेसेन्जर, फेसबुक लगायतका सामाजिक सञ्जालबाट हिजो रातीदेखि नै प्रश्नपत्र बाहिरिएको थियो । यस विषयमा आज विहान परीक्षा नियन्त्रण कार्यालयको आकस्मिक बैठकले परीक्षा रद्द गरिएको छ ।
यस अघि विहीबारको विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । उक्त परीक्षा चैत्र २२ गते निर्धारण गरिएको छ । प्रदेशभरि एउटै प्रश्नपत्र रहेकोले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।
शुक्रबार हुने भनिएका सामाजिक विषयको प्रश्नपत्र आउट भएको भन्दै परिक्षा स्थगित भएपछि प्रदेश अन्तर्गतका जिल्लामाहरुमा विद्यार्थीहरु प्रदर्शनमा उत्रेका छन् ।
पर्साको विरगञ्ज, सिरहाको लहान, रौतहटको गौर, धनुषाको जनकपुर, सप्तरीका राजविराज सहितका स्थानहरुमा विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका छन् । नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित तथा रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै विद्यार्थीहरुले आक्रोसित भएका छन् ।
सप्तरी सदरमुकम राजविराजमा विद्यार्थीहरुको आक्रोशित भिड नाराजुलुस सहित बजार परिक्रमा गरिरहेको छ । ठाउँठाउँमा प्रदर्शन तथा सडक अवरुद्ध गरिएको छ ।
प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी एसइईमा सम्मिलित छन् ।