• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

परीक्षा अगावै प्रश्नपत्र आउट भएपछि प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द

परीक्षा अगावै प्रश्नपत्र आउट भएपछि प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द

राजविराज, १४ चैत्र । प्रदेश २ मा बिहीबार लिईएको एसईई परीक्षाको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।
परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको तथ्य फेला परेपछि परीक्षा रद्द गरिएको हो । रद्द भएको परिक्षा चैत २२ गते हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिएका छन् । ‘२१ गते सबै विषयको परीक्षा सकिन्छ, त्यसपछि चैत २२ गते पुनः परीक्षा हुने गरी प्रदेश २ मा पुनः विज्ञान विषयको परीक्षा हुने समय तालिका तोकेका छौं,’ उनले भने ।
बोर्डले प्रदेश २ भित्रका सबै जिल्लाको परीक्षा रद्दको निर्णय गरेको छ । बोर्डको आकस्मिक बैठकले प्रश्नपत्र बाहिरएकोबारे छानबिन गर्न ४ सदस्यीय टोली गठन गरेको छ। बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानविन टोली गठन भएको छ । छानविन टोलीले विस्तृत अध्ययन गरेर प्रश्नपत्र बाहिरएकोबारे प्रतिवेदन दिने बोर्डले जनाएको छ।
प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए। सप्तरी जिल्लाको परीक्षा केन्द्रबाटै प्रश्नपत्र आउट भएको प्रारम्भिक अनुमान गरिएको छ । तर, सप्तरीका सिडिओ तथा जिल्ला परिक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलेले भने सप्तरीवाट प्रश्न पत्र आउट नभएको जिकिर गरेका छन् ।
बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको पौडेलले पुष्टि गरे । अनुगमनका क्रममा प्रश्नप्रत्र हुबहु फेला परेको र सोही प्रश्नका आधारमा हुबहु उत्तर चिटको रुपमा ल्याईएको फेला परेपछि परीक्षा समन्वय समिति सप्तरीको वैठकवाट विज्ञान विषयको परीक्षा रद्द गर्न सिफारिश गरिएको थियो ।
अर्कोतर्फ सप्तरीमा सञ्चालित परिक्षा केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारीसमेतको मिलेमतोमा अमर्यादित हुने गरेको पाईएको छ । परिक्षामा चिट चोर्नका लागि मोवाईको प्रयोग धेरै भएको छ । फेसवुक म्यासेन्जर, वाट्सअप, इमो, भाईवर लगायतका प्रविधि मार्फत चोरी हुने गरेको अनुगमन टोलीका सदस्यहरुले जानकारी दिएका छन् । मर्यादित रुपमा परिक्षा सञ्चालन गर्न नसकेको आरोपमा वुधवार मात्रै मावि वनरझुला केन्द्रका केन्द्राध्यक्ष रामअवतार गुप्ता र सहायक केन्द्राध्यक्ष देवनारायण मण्डलसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोबाइलमार्फत चिट चोरेको भेटिएपछि निरिक्षकहरु मनोजकुमार चौधरी, रामसुन्दर चौधरी, लगेन्द्रप्रसाद चौधरी र रामानन्द चौधरीसमेतलाई नियन्त्रणमा लिईएको सिडिओ पौडेलले वताए । ‘परिक्षार्थीलाई निस्कासन गरेर छोडिएको छ । सामान्य गल्ति गर्ने निरक्षक समेतलाई निस्कासनको कार्वावाही भयो’ पौडेलले भने–‘तर, अक्षम्य गल्ति गरेको पाईएपछि ६ जनालाई नियन्त्रणमा लिएर कार्वाही सुरु गरिएको छ ।’
उनीहरुलाई शिक्षा ऐन अनुसार कार्वाही हुने सिडिओ पौडेलले वताए । शिक्षा ऐन अनुसार ६ महिनासम्म कैद र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।