राजविराज, १४ चैत्र । आगामी चैत्र १६ गते जनकपुरधाममा आयोजना हुन लागेको हलुवाई समाज नेपालको राष्ट्रिय महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
समाजको केन्द्रिय समितिले जनकपुरधाममा विहीवार पत्रकार सम्मेलन आयोजना गरी उक्त विषयमा जानकारी दिएका हुन् । हलुवाई जातिको पहिचान तथा राज्यको नीतिगत सेवा र सुविधामा आफ्नो पहुँच कायम गर्न क्रियाशिल रहँदै समाजले दोस्रो राष्ट्रिय महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको समाजका अध्यक्ष शिवनारायण साह ‘सुरज’ले जानकारी दिए ।
‘सहअस्तित्व, अन्तराष्ट्रियता, सांस्कृतिक जागरण र सहकार्य’ भने नाराका साथ जनकपुरधाम स्थित तिरहुतिया गाछी मैदानमा आयोजना गर्न लागि उक्त सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको अध्यक्ष साहले बताए । सम्मेलनमा नेपालको विभिन्न जिल्लामा बसोबास गर्दैआएका हलुवाई जातिका अगुवाहरुका साथै भारतको विभिन्न प्रदेशहरुबाट समेत अतिथिहरुको सहभागिता रहने उनले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनको उद्घाटन समारोहमा करिब २५ हजारको संख्यामा हलुवाई जातिको सहभागिता रहनेछन् । बन्द शत्रमा दुई सय प्रतिनीधिहरुको सहभागितामा देशको पुनरसंरचना अनुसार संस्थाको विधान संशोधन, भावी कार्यदिशा तथा नयाँ कार्य समिति चयन गरिने समाजका अध्यक्ष साहले बताए । यसका साथै हलुवाई जातिको आर्थिक, सामाजिक, शैक्षिक र दहेज समस्या, वैवाहिक समस्या, उपनयन संस्कार, जातीय विकास सहितका विषयहरुलाई प्राथमिकताका साथ उठाईने उनले जानकारी दिए । आगामी दिनहरुमा विभिन्न कार्यक्रमहरु गरिनेमा गोष्ठिका सहभागीहरु सहमत भएका छन् ।
पूर्व उप–प्रधान तथा गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रिय उप–सभापति विमलेन्द्र निधीद्वारा उद्घाटन हुने उक्त महाधिवेशन अघि हलुवाई जातिको परम्परागत पहिचान झल्किने झाँकी जनकपुरधामको विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम रहेको महाधिवेशन आयोजक समितिका संयोजक दशरथ साहले जानकारी दिए । सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत उनले पत्रकार सम्मेलन मार्फत आग्रह गरे ।
पत्रकार सम्मेलनमा समाजका केन्द्रिय सचिव महेश साह, कोषाध्यक्ष शत्रुध्न प्रसाद साह, सदस्य शिवप्रसाद हलुवाई लगायतको सहभागिता रहेको थियो ।