राजविराज, १३ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका–१ वैरवा स्थित त्रियुगा नदिको पुर्वपट्टि भएका कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गा अतिक्रमण गर्न आएकाहरु र प्रहरी बीच बुधवार झपड भएको छ ।
विभिन्न जिल्लावाट भेला भएका सर्वसाधारण र प्रहरी विहान झडप भएको हो । त्यसक्रममा जग्गा अतिक्रमणको नेतृत्वकर्ता मंगोल नेसनल ओर्गनाईजेसनका केन्द्रिय सदस्य तथा प्रदेश १ का इन्चार्ज शक्ति राईसहितका एक दर्जन ब्यक्ति पक्राउ परेका छन् ।
अर्गनाईजेसनका ब्यक्तिहरुले ‘सरकारले सित्तैंमा जग्गा वितरण गर्दैछ’ भन्ने गलत सूचना दिएर झापा, मोरङ्ग, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर, भोजपुर, चितवन र मकवानपुरका हजारौं सर्वसाधारणलाई जम्मा गरेका थिए । सोको जानकारी पाएको स्थानीय प्रशासनले विहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आरक्ष क्षेत्रमा तैनाथ गरेको थियो ।
प्रहरीले लाठी चार्ज र १४÷१५ राउण्ड अश्रु ग्याँस प्रहार गरिएको थियो । प्रहरीसँगको झडप र माईकिङ्गपछि सर्वसाधारणको भिड तितरवितर भएको थियो । वाहिरी जिल्लावाट आएका ब्यक्ति समेत घर बनाउने सामग्री तथा परिवारसहित आएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।