राजविराज, १३ चैत्र । सप्तरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मोवाइलबाट भाइबर, इमो र म्यासेन्जरबाट चिट चोर्ने गरेको रहस्य खुलेको छ ।
अनिवार्य गणित विषयको परीक्षामा तीन जना परीक्षार्थीले मोबाइल प्रयोग गरि परीक्षा दिइरहेको फेला परेपछि भाइबर, इमो र म्यासेन्जरबाट चिट चोर्ने गरेको खुलेको हो । ‘हनुमाननगर परीक्षा केन्द्रबाट तीन जना परीक्षार्थीलाई मोवाइलसहित पक्राउ गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाय कार्यालय सप्तरीका प्रमुख शंकर लुईंटेलका अनुसार तीनै जनाले भाइबर, इमो र म्यासेन्जरबाट चिट चोरिरहेका थिए । उनीहरुको गणित विषयको परीक्षा समेत रद्द गरिएको छ ।
यसैगरी चिट चोर्ने कार्यमा सहयोग गरेको भन्दै माध्यमिक विद्यालय बनरझुलाका केन्द्राध्यक्ष रामअवतार गुप्तालाई निष्काशित गरिएको छ । परीक्षा समन्वय समितिबाट खटिएको टोलीले केन्द्राध्यक्ष गुप्तालाई चिट चोर्न सहयोग गरिरहेको देखेपछि निष्काशित गरिएको प्रमुख लुईंटेलले जानकारी दिएका छन् ।