राजविराज, १० चैत्र । आइतवारदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन सप्तरीमा सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
जिल्लामा कुल ३३ ओटा परीक्षा केन्द्रमा परिक्षामा ८ हजार ६ सय १८ जना परीक्षार्थी सहभागी भएका छन् । जसमध्ये २०१ छात्र र ३९ छात्रा समेत गरी १६२ जना अनुपस्थित भएका छन् ।
यसैगरी लागुऔषध मुद्दामा थुनामा रहेका परीक्षार्थी ०१५८०१७ ‘इ’ सिम्बोल नम्वर भएका करण कुमार यादव र सोही मुद्दाका सिम्बोल नम्वर ०१५५७८८ ‘भी’ भएका प्रविन थापाले जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतबाटै परीक्षामा सहभागी भएका छन् । यस्तै जबरजस्ती करणी मुद्दामा राजविराज कारागारमा रहेका सिम्बोल नम्वर ०१५१०८० ‘जे’ भएका परीक्षार्थी दिपेन कुमार मण्डल समेत कारागारबाटै परीक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
सप्तरी जिल्लाबाट एसईई परीक्षामा कुल ८ हजार ६ सय १८ जना छात्र–छात्रा सहभागी भएका छन् । जसमध्ये २०१ जना छात्र र ३९ जना छात्रा समेत गरी १ सय ६२ जना अनुपस्थित भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी एसईई परीक्षामा सहभागी छात्राहरुकालागि ३३ ओटै परीक्षा केन्द्रमा जिल्ला बाल कल्याण समिति सप्तरीद्वारा सेनेटरी प्याड उपलब्ध गराईएको छ । केही परीक्षा केन्द्रहरुमा पुगेर प्रमुख बाल कल्याण समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक विष्ट, बाल कल्याण समितिका सचिव समेत रहेका प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा लगायतको टोलीले केन्द्राध्यक्षहरुलाई सेनेटरी प्याड हस्तान्तरण गरेका छन् ।