• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

काण्डै–काण्डमा सरकार फँसेको छः पूर्व प्रम भट्टराई

काण्डै–काण्डमा सरकार फँसेको छः पूर्व प्रम भट्टराई

राजविराज, २८ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काण्डैकाण्डले भ्रष्टाचार चरम सिमामा पुगेको बताएका छन् ।
नेपाल प्रेस सोसाइटीद्वारा सप्तरी सदरमुकाम राजविराजमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकार काण्डै–काण्डमा फँसेको र भ्रष्टाचारलाई चरम सिमामा पुर्याएको उनले आरोप लगाए । सरकार शुसासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा सम्वेदनशिल हुनुपर्नेमा उनले जोड दिए । उनले भने ‘वाइडवडि काण्ड, बुढीगण्डकी काण्ड, एनसेल काण्ड, सुन काण्ड, निर्मला हत्या काण्ड लगायतका काण्डै–काण्डमा सरकार फँसेको छ र भ्रष्टाचारलाई समेत चरम सिमामा पुर्याएको छ ।’
दुई तिहाईको सरकारले एक वर्ष बित्दा पनि संविधानका अपुर्णतालाई सम्बोधन गरी संविधान संशोधन गर्ने तथा मधेश र थारुवान क्षेत्रमा देखिएका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने विषयमा काम गर्न नसकेको टिप्पणी गरे । आर्थिक रुपमा विकासले गति लिन नसकेको, ब्यापार घाटा बढेको र विदेशी लगानी घटेको भन्दै उनले समग्रमा देश उल्टो दिशातर्फ गईरहेको आलोचना गरे ।
थारु विद्रोहका कारण मुद्दा खेपीरहेका रेशम चौधरी र राज्य विप्लवको मुद्दा खेपिरहेका डा. सिके राउत प्रकरणलाई जोड्दै कार्यपालिकाको लाचार छायाँ न्यायपालिका र ब्यवस्थापिका पर्नु दुःखद पक्ष भएको डा. भट्टराईले बताए । रेशम चौधरी र सिके राउत प्रकरणमा सरकारको दोहोरो नीति देखिएको भट्टराईले टिप्पणी गरे । अदातलाई प्रभावमा पारेर एकातर्फ सिके राउतलाई जेल मुक्त गर्ने र अर्कोतर्फ त्यसको उल्टो रेशम चौधरीसहित ११ जनालाई आजिवन कारावासको सजाय सुनाउने सरकारको नीति अशोभनीय रहेको बताए ।
मान्छे मर्नु र सुरक्षा कर्मी मारिनु दुःखद भएको बताउँदै उनले भने ‘कैलाली घट्ना राजिनितिक विद्रोहको क्रममा भएकाले रारजनितिक ढङ्गबाटै समस्याको समाधान खोज्नुपर्छ । सरकारले चलखेल गरेर रेशम चौधरीसहितका ११ जना थारु युवाहरुलाई आजिवन कारावासको सजाय सुनाएको भट्टराईले टिप्पणी गरे । राजनितिक विद्रोह गर्ने थारु युवालाई आजिवन कारावास पठाउने अनि पृथकतावादको आरोपमा राज्य विप्लवको मुद्दा खेपिरहेका राउतलाई चाहि मिलेमतो गरेर सम्झौता गर्ने यदि हो भने यो गम्भिर विषय हुने डा. भट्टराईले बताए ।