राजविराज, २७ फागुन । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले सिके राउतसँग सरकारकले गरेको ११ वँुदे सम्झौताको विषयमा समयमै स्पष्ट नगरिए देशमा द्वन्द्वको अर्को बीऊ रोपिने सम्भावना व्यक्त गरे ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न सोमवार सप्तरी आएका भट्टराईले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो सम्भावना व्यक्त गरेका हुन् । ‘११ वँुदे सहमतिमा धेरै अस्पष्टताहरु छन्’ उनले भने–‘खास गरी २ नम्वर वँुदामा जनअभिमतमा आधारित लोकतान्त्रिक तरिकाले समस्याको समाधान गर्ने भनिएको छ, सिके राउत पक्षले जनमत सहग्रहको अर्थमा अथ्र्याईरहेका छन्, सरकार होईन भन्छ । यो के हो प्रष्ट हुनुपर्छ । सुरुमा नै यस्तो अस्पष्टता भएपछि यसले फेरी अर्को द्वन्द्वको विऊ रोपिने सम्भावना छ ।’
राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौम सत्ता परिवर्तन गर्न नसकिने भन्दै भट्टराईले दुईटा विषयमा जनमत सङ्ग्रह नहुने समेत बताए । यो विषयमा विवाद चर्काउनु भन्दा सरकारले आफनो दायित्व बुझेर जनतालाई स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए ।
वार्ता मार्फत समस्या समाधान गर्नु सकारात्मक पक्ष भएपनि दोहोरो ब्याख्या हुने खालको सम्झौता गर्नु सरकारको कमजोरी भएको उनले बताए । दोहोरो अर्थ लाग्ने भाषा लेखिएको भन्दै उनले लोकतन्त्र भनेपछि जनअभिमत लेख्नुको कुनै औचित्य रहेको बताए । बरफलाई चिसो र तातो भन्दै भन्दै अथ्र्याउन थालेकाले सम्झौतामा खेल्ने ठाउँ उत्पन्न भएको पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईको भनाई थियो ।
नाटकीय ढङ्गले सरकारले हतार गरेको टिप्पणी गर्दै अलग–अलग ब्याख्या गर्नेगरी सम्झौता गरेको उनले बताए । तत्कालिन माओवादी पार्टी जनयुद्ध छोडेर शान्ति प्रकृयामा आउँदा प्रचण्डले त्यसैगरी अर्थ लगाउनाले पार्टीलाई घाटा भएको स्मरण गर्दै प्रचण्डले शान्ति सम्झौतालाई मुखमा शान्ति प्रकृया तथा भित्र विद्रोह हो भन्दै व्याख्या गरेकोले पार्टीलाई क्षति भएको बताए ।
संविधानलाई संशोधन गरेर संघीयतामा अपुर्ण भएका कुरा थपघट गर्दै अघि बढ्न भट्टराईले डा. सिके राउतलाई आग्रह गरेका छन् । खास गरी संघीयताको कुरा, शासकीय स्वरुपमा राष्ट्रपतिय प्रणालीको कुरा र नागरिक्ता लगायतका विषयमा संविधान संशोधन गर्नु आवश्यक रहेको उनले बताए । जनकपुरमा भएको सिके राउतको कार्यक्रमले उनी माथि शंका गर्ने ठाउँ उत्पन्न भएको भट्टराईले चिन्ता व्यक्त गरे । नेपालको स्वाधिनता र अखण्डता स्विकारेर शान्तिपुर्ण राजनितिमा आएको हो भने आफ्नो कार्यक्रमबारे स्पष्ट ढङ्गले भन्न र नेता भईसकेकपछि आफुले गरेको कुरामा दृढतापुर्वक उभिन उनले राउतलाई आग्रह पनि गरे ।
डा. भट्टराई सोमबारै छिन्नमस्ता गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै सम्वोधन गरेका छन् । उक्त कार्यक्रम गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’को अध्यक्षतामा आयोजना गरिएको हो ।